07/20/2025, 00:59:29

पानी पार्ने प्रणाली विकासः पहाडी क्षेत्रमा जोखिम


काठमाडौँ, ३ साउनः जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणाली देशभर एकनासको नभएर सीमित क्षेत्रमा वर्षा गराउने खालको रहेको जनाएको छ । एक साता तापक्रम बढेर जनजीवन प्रभावित भएकामा फेरि नयाँ मनसुनी प्रणाली (पानी पार्ने प्रणाली) विकास भएको हो ।

विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले यो देशैभरि फैलिने ठूलो प्रणाली नभएकाले पहाडी क्षेत्रमा मात्रै देखिने बताउँदै मौसम बदली भने हुने जानकारी दिनुभयो । उहाँले तराईमा अझै पनि भारी वर्षा हुने खालको प्रणाली विकसित भइनसकेको बताउनुभयो । अहिले वर्षाको अभावमा तराईका जिल्ला प्रभावित भएका भन्दै उहाँले कतिपय क्षेत्रमा ट्याङ्कर र दमकलबाट पानी वितरण भइरहेको उल्लेख गर्नुभयो ।

मौसमविद् मानन्धरले अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताउँदै मनसुनको न्यून चापीय रेखा पश्चिम र मध्य नेपालमा सरदर स्थानभन्दा उत्तरतिर तथा पूर्वमा सरदर स्थानको आसपासमा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार हाल कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।

आगामी २४ घण्टामा कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागका अधिकांश स्थानमा तथा बाँकी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोशी, बाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानमा भारीदेखि अतिभारी वर्षाको पनि सम्भावना रहेको मानन्धरले जानकारी दिनुभयो । आज राति र भोलि कोशी र गण्डकी प्रदेशका केही ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको बताउँदै तराई क्षेत्रमा भन्दा पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना बढी रहेको उल्लेख गर्नुभयो ।

देशको उच्च-पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ ।

सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सावधानी अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ । आगामी तीनदिनसम्म मौसम बदली हुने र त्यसपछि हट्दै जाने पनि मौसमविद् मानन्धरले जानकारी दिनुभयो ।