१० असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार, शुक्रबार दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय चःमतीमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो। बिहीबार चीन भ्रमण छोट्याएर फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा यसबारे जानकारी गराएका हुन्।
सीपीसीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको टोली भ्रमण छोट्याएर बिहीबार नै नेपाल फर्किएको छ। उनीहरू आगामी असोज १४ गते नेपाल फर्कने कार्यतालिका थियो। यद्यपि पछिल्लो राजनीतिक घटनाक्रमका कारण भ्रमण छोट्याएर फर्किएको उपसभापति डा. स्वर्णिम वाग्लेले बताएका छन्।
सहकारी प्रकरणमा जोडिएका सभापति रवि लामिछानेका साझेदार छविलाल जोशी पक्राउ परेपछि उत्पन्न राजनीतिक तरंगकाबीच उनीहरू बिहीबार फर्केका हुन्। उक्त प्रकरणमा शुक्रबारको पत्रकार सम्मेलनमा थप प्रष्ट पार्ने कार्यवाहक प्रवक्ता झाले बताए।
‘हामी यो विषयमा स्पष्ट पार्नका लागि भोलि शुक्रबार ४ बजे पार्टी कार्यालयमा पत्रकार सम्मेलन राखेका छौँ। त्यहाँ अझै धेरै स्पष्ट पार्नेछौँ,’ उनले भने। सभापति लामिछानेले यसअघि फेसबुक लाइभबाट सहकारी प्रकरणबारे प्रष्ट पारेका थिए।
‘सम्भवतः नेपालको राजनीतिमा कुनै पनि राजनीतिज्ञ फेसबुक लाइभमा आएपछि लगभग ९० लाख मान्छेले उहाँको सन्देश हेर्नु भनेको नेपालको लागि नै एउटा इतिहास हो। मान्छेले कति सरोकार र अपेक्षा राखेको छ भन्ने कुरा तथ्यांकले पनि देखाउँछ,’ प्रवक्ता झाले भने।