गण्डकी, ३ साउनः गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले कला, साहित्य, प्रकृति र संस्कृतिको संरक्षण एवम् प्रवर्द्धन गर्नु हामी सबैको साझा दायित्व भएको बताउनुभएको छ ।
पोखरा थियटरद्वारा नेपाली साहित्यका वरिष्ठ स्रष्टा, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठका सम्मानमा आयोजित विशेष काव्य-सांस्कृतिक कार्यक्रम ‘हिउँमा नलेखिएका तीर्थ-पाँच आयामका साथ’ को उद्घाटन गर्दै उहाँले हाम्रा मौलिक तथा रैथाने संस्कृति, कला-साहित्य, रीतिरिवाज हाम्रा अमूल्य सम्पदा भएका बताउनुभयो ।
गण्डकी प्रदेश कला, साहित्य, सङ्गीत र लोकसंस्कृतिमा सम्पन्न रहेको उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले भन्नुभयो, “आदिकवि भानुभक्त आचार्य, कवि शिरोमणि लेखनाथ पौड्याल, जनकविकेशरी धर्मराज थापा, लोककवि अलिमियाँ, लोकसङ्गीतका शिखर व्यक्तित्व झलकमान गन्धर्वदेखि हालका सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला लगायतको भूमि गण्डक क्षेत्र हो ।”
यस भेगमा सिर्जित अपार सांस्कृतिक ज्ञानपरम्परा र वैभवले यस क्षेत्रको चेतनालाई सदैव उँचो राख्दै आएको बताउँदै उहाँले यस भूमिलाई जीवन्त र सांस्कृतिक दृष्टिले समृद्ध बनाउने अभियानमा संस्थागत तथा व्यक्तिगत तर्फबाट विभिन्न प्रयास भएका बताउनुुभयो ।

गण्डकीको राजधानी पोखरा सहरलाई कला र संस्कृतिको मञ्च बनाउन पोखरा थियटरले निरन्तर कर्म गरिरहेकामा उहाँले खुसी व्यक्त गर्नुभयो । यहाँ नाटक, सङ्गीत, नृत्य, कवि गोष्ठीलगायत विभिन्न सांस्कृतिक गतिविधिहरू सञ्चालन हुँदै आएकाले पोखरामा सांस्कृतिक उत्सवहरूको वातावरण निर्माणमा यहाँका कलाकारहरूको सिर्जनात्मकता र व्यावसायिकता विकास गर्न यसले महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ ।
कवि एवं साहित्यकार तीर्थ श्रेष्ठमा समर्पण गरी उहाँकै सम्मुख ‘हिउँमा नलेखिएका तीर्थ–पाँच आयामका साथ’ आयोजित यस कार्यक्रमले स्रष्टालाई हौसला प्रदानसँगै सबै कलाकार तथा सर्जकलाई सम्मान अर्पण गरेको भट्टले उल्लेख गर्नुभयो ।
पोखरा थियटरका प्रमुख कार्यकारी अधिकृत मोतिबहादुर कार्की (परिवर्तन)को अध्यक्षतामा भएको कार्यक्रममा कवि तीर्थ श्रेष्ठका कविता, गजल, मुक्तक, गीत र नाटक गरी पाँच विधामा उहाँका सिर्जनाहरू वाचन तथा मञ्चन गरिएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










