काठमाडौँ, ३ साउनः कवि उमेश अकिञ्चनको कविता सङ्ग्रह ‘सायद किनाराहरू’ सार्वजनिक गरिएको छ । आज यहाँ आयोजित एक कार्यक्रमबीच रक्षामन्त्री मानवीर राई, कविहरू श्रवण मुकारुङ, रमेश क्षितिज र विमला तुम्खेवा लगायतले संयुक्त रूपमा उक्त सङ्ग्रहको विमोचन गर्नुभएको हो ।
इन्डिगो इन्कले प्रकाशन गरेको सङ्ग्रहमा ४१ वटा कविता सङ्ग्रहित छन् । कविता सङ्ग्रहमाथि मुकारुङ, क्षितिज र तुम्खेवालगायत कविहरूले चर्चा गर्नुभएको थियो । तीन दशकदेखि कविता लेखिरहनुभएका अकिञ्चन विम्बहरूको प्रयोगबाट अत्यन्तै सशक्त कविता लेख्न सक्ने कविका रूपमा रहेका मुकारुङले बताउनुभयो ।
प्रशासनिक क्षेत्रमा खड्गराज राईले परिचित कवि अकिञ्चन हाल रक्षा मन्त्रालयअन्तर्गत उपसचिवका रूपमा कार्यरत हुनुहुन्छ । कवि अकिञ्चन एक प्रखर कविका रूपमा मात्र नभएर असल राष्ट्रसेवकसमेत रहनुभएको रक्षामन्त्री मानवीर राईले बताउनुभयो । अकिञ्चनको यो तेस्रो कृति हो । सो कविता सङ्ग्रह आजैदेखि बजारमा उपलब्ध हुने प्रकाशक इन्डिगो इन्कले जनाएको छ ।