07/15/2025, 20:33:28

सर्पदंशका बिरामीलाई तत्काल उपचारको व्यवस्था गर्न माग


 काठमाडौँ, ३१ असारः राष्ट्रियसभाका सांसदहरुले ‘मर्यादित महिनावारी’ सम्बन्धी सङ्कल्प प्रस्ताव कार्यान्वयन गर्न तथा गर्मीयाममा सर्पदंशका बिरामीलाई तत्काल उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
सभाको आजको बैठकमा सदस्यहरुले सभाबाट पारित यस सङ्कल्प प्रस्तावको कार्यान्वयनका लागि सभाका अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । बैठकको शून्य समयमा सांसदहरु गङ्गाकुमारी, तुलसाकुमारी दाहाल, भगवती न्यौपाने र सुमित्रा बिसीले छाउगोठमा सर्पले डसेर महिलाको मृत्यु भएको भन्दै बालिका तथा महिलालाई सुरक्षित र मर्यादित महिनावारीका लागि आवश्यक कानुनी र संरचनागत सुधारका लागि आग्रह गर्नुभयो ।
महिनावरीको अवधिमा भोग्नुपर्ने बहिष्करण, हिंसा, विभेद तथा तीनका कारण उत्पन्न शारीरिक र मानसिक पीडा एवं असुरक्षा हुने गरेको छ । विभेदको अन्त्य, सामाजिक न्याय, मौलिक अधिकार र मानव अधिकारको रक्षा सुनिश्चित गर्न कानुनी तथा संरचनागत सुधारको आवश्यकता रहेको सो प्रस्तावमा उल्लेख छ ।
शून्य समयमा सांसद इन्दिरादेवी गौतमले गर्मीयाममा सर्पदंशका बिरामीलाई तुरुन्त औषधि र उपचारका उपलब्ध गराउने व्यवस्था गर्न सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले  वर्षायाममा डेङ्गी, झाडापखाला र टाइफाइडजस्ता सङक्रमण फैलन सक्नेतर्फ सचेत गराउँदै आपत्कालीन सेवा बजेट व्यवस्थापनको माग गर्नुभयो ।
सांसद मायाप्रसाद शर्माले मध्यपश्चिम विश्वविद्यालयको व्यवस्थापन पक्ष अस्तव्यवस्त भएको भन्दै विद्यार्थीमैत्री नीति र कर्मचारीको व्यवस्थापन गर्दै गुणस्तरीय शिक्षाका उपलब्ध गराउनुपर्ने राय व्यक्त गर्नुभयो ।
शून्य समयमा सांसद राधेश्याम पासवानले सौर्य जहाज दुर्घटनाका पीडित परिवारले न्याय नपाएको गुनासो गरिरहेका उल्लेख गर्दै यसबारे सम्बन्धित मन्त्रालयसँग जवाफ माग गर्नुभयो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..