07/15/2025, 21:41:59

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग


काठमाडौँ, ३१ असारः ‘भिजिट भिसा’ र मन्त्रीको घूस काण्डको अडियो टेप प्रकरणबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सांसदहरुले माग गरेका छन् ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकको कारबाही सुरु गर्ने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले उठेर विरोध जनाए । त्यसपछि सभामुख घिमिरेले रास्वपाका तर्फबाट निर्वाचित सांसद शिव नेपालीलाई समय दिनुभयो । उहाँले अध्यागमन विभागबाट भएको मानव तस्करीबारे छानबिन गर्न माग गर्दै २०७८ माघ ११ गते तत्कालीन गृहमन्त्री बालकृष्ण खाँड नेतृत्वको टोलीले सार्वजनिक गरेको प्रतिवेदन कार्यान्वयन गर्न माग गर्नुभयो ।
राप्रपाका सांसद ज्ञानबहादुर शाहीले विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा नदिए समस्या समाधान नहुने बताउनुभयो । उहाँले मन्त्रीको श्रव्य सामग्री सार्वजनिक भएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाहीको प्रक्रिया अघि बढाउनुर्नेमा जोड दिनुभयो । उहाँले बोलिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट निर्वाचित सांसद सुनिता बरालले प्रधानमन्त्रीको नेतृत्वमाथि आरोप लगाएर बोलेको विषय संसद्को अभिलेखबाट हटाउन माग गर्नुभयो । सभामुख घिमिरेले सांसदहरुले उठाउनुभएका विषयमा आफ्नो ध्यानाकर्षण भएको सदनलाई जानकारी गराउनुभयो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..