07/15/2025, 02:43:44

विकास भएको छैन भन्नु भ्रम हो : विश्वप्रकाश शर्मा


झापा, ३० असार : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा विकासका काम धेरै भए पनि ‘केही भएको छैन’ भन्ने भाष्य निर्माण गर्न खोजिएकामा आपत्ति जनाउनुभएको छ ।

यहाँस्थित बुद्धशान्ति गाउँपालिका–४ मा आज भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको धनीपुर्जा वितरण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुकमा भइरहेको विकासलाई नदेखेजस्तो गर्दै ‘केही भएको छैन’ भन्नु भ्रम भएको बताउनुभयो ।

गौँडा गौँडामा कालोपत्रे सडक बनेको छ, यही पालिकामा रु १८ करोडभन्दा बढीका खानेपानीका योजना परेका छन्”, उहाँले भन्नुभयो, “नेपालकै तेस्रो लामो झोलुङ्गे पुल यहीँ छ, अनि अझै विकास भएन भन्ने ?

उहाँले जताततै सडक, पुल, खानेपानी, विद्युत् विस्तार र अस्पतालको सुविधालगायतका विकासका काम भएको चर्चा गर्नुभयो । उहाँले नागरिकलाई विकाससँगै सुशासन पनि चाहिएको बताउनुभयो ।

महामन्त्री शर्माले महँगो कर लगाएर धनीपुर्जा वितरण गर्ने काम विगतमा आफूले रोकेको स्मरण गर्नुभयो । उहाँले आफ्नो आग्रहलाई स्वीकारेर सरकारले जग्गाको राजस्व आधा घटाएको उल्लेख गर्नुभयो ।

आज बुद्धशान्ति गाउँपालिका–४ का १९५ जना भूमिहीनलाई जग्गाको धनीपुर्जा वितरण गरिएको पालिकाका अध्यक्ष मनोज प्रसाईले जानकारी दिनुभयो ।

भूमि समस्या समाधान आयोग झापाका अध्यक्ष मदन अधिकारीले तत्काल झापामा ५५० जनालाई जग्गाको धनीपुर्जा वितरण गरिने बताउनुभएको छ । दुई दिनअघि मात्र प्रधानमन्त्री केपी शर्माले कनकाई नगरपालिकाबाट जग्गाको धनीपुर्जा वितरण शुभारम्भ गर्नुभएको थियो । कनकाईमा १५७ जनाले जग्गा धनीपुर्जा प्राप्त गरेका थिए ।

यसैगरी, असार ३२ गते अर्जुनधारा नगरपालिकामा १३२ जनालाई जग्गाको धनीपुर्जा वितरण गरिने आयोग झापाका अध्यक्ष अधिकारीले बताउनुभयो । यसअघि गठित आयोगले दुई हजार ५०० भन्दा बढी धनीपुर्जा वितरण गरेको तथ्याङ्क आयोगमा रहेको उहाँको भनाइ छ । उहाँका अनुसार कतिपय व्यक्तिहरुले जग्गाको राजस्व तिर्न नसकेका कारण तयार भइसकेका धनीपुर्जा समेत वितरणमा ढिलाइ भइरहेको छ ।

झापामा विसं २०७७ यता आयोगमार्फत ५५ हजार भूमिहीन दलित, अव्यवस्थित बसोबासी र सुकुम्बासीलाई जग्गाको निस्सा वितरण गरिसकेको उहाँले जानकारी दिनुभयो ।