काठमाडौँ, २९ असारः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले सरकारका मन्त्रीहरुले घुस लिएको विषय सार्वजनिक प्रचारमा आएको भन्दै दोषीमाथि कारबाहीको माग गर्नुभयो ।
उहाँले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमाथि प्रश्न उठेकाले सरकारले तत्काल जवाफ दिनुपर्नेमा माग गर्नुभयो ।
कम्पनी रजिष्ट्रार कार्यालयमा भइरहेको ढिलासुस्तीप्रति ध्यानाकर्षण गराउँदै सांसद पाण्डेले कर्मचारीहरुबाट भइरहेको सेवाग्राहीको हितविपरीतको गतिविधि तत्काल बन्द गर्न र जरिवाना छुटको प्रबन्ध गर्न आग्रह गर्नुभयो ।
जनता समाजवादी पार्टीका सांसद सुशीला श्रेष्ठले झापाको झापा गाउँपालिकामा अवस्थित लसुना नाकालाई थप व्यवस्थित गर्न भन्सार कार्यालय स्थापना गरी राजस्व सङ्कलनलाई प्रभावकारी बनाउन र भौतिक पूर्वाधारको यथोथित संरक्षण गर्न माग गर्नुभयो ।
जनमत पार्टीका सांसद अब्दुल खाँनले रसुवागढीमा काम गर्न गएका बर्दियाका नागरिक बाढीमा परी बेपत्ता भएको उल्लेख गर्दै उनीहरुको खोज गरी पीडित परिवारलाई राहत उपलब्ध गराउन आग्रह गर्नुभयो । बाढीपहिरोका कारण नेपाल–चीन सीमामा रहेको मितेरी पुल बगेको, दर्जनौँ सवारीसाधन बगाएको तथा जनधनको क्षति भएकाले तत्काल पुनः निर्माणको काम गर्नुभयो ।
जनता समाजवादी पार्टी नेपालका सांसद रेखा यादवले तराई–मधेसका विभिन्न जिल्लामा खानेपानीको समस्या विकराल बन्दै गएकाले यथोचित प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टीका सांसद रामप्रकाश चौधरीले तराई–मधेसलाई जलसङ्कट क्षेत्र घोषणा गर्न माग गर्नुभयो । उहाँले पर्याप्त वर्षा नहुँदा सिँचाइ नहरबाहेकका क्षेत्रमा रोपाइँ हुन नसकेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले चालु आर्थिक वर्षको पुँजीगत खर्च न्यून हुनु दुःखद् रहेको धारणा राख्नुभयो । मुलुकमा व्यापारघाटा चुलिँदै गएको, दाल, चामल, खाद्य पदार्थसमेत विदेशबाट आयात गरिँदा घाटाको ग्राफ बढेको उहाँको भनाइ छ ।
राष्ट्रिय जनमोर्चा पार्टीका सांसद चित्रबहादुर केसीले सरकारमा बस्नेहरुले देश र जनताको हितमा काम नगर्दा व्यवस्थाकाविरुद्ध आवाज उठ्ने गरेको तर्क गर्नुभयो । उहाँले सरकार प्रमुख र मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक नगरेकामा आपत्ति प्रकट गर्नुभयो ।
आमजनता पार्टीका सांसद प्रभु साहले काठमाडौँका विभिन्न स्थानमा बसोबास गर्ने सुकुम्बासी बस्तीमा खानेपानीको उपलब्धता हुन नसकेकाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले तराई–मधेसमा खानेपानीको चरम अभाव देखिएको भए पनि सरकारकोतर्फबाट कुनै सार्थक प्रयास नभएकामा गुनासो गर्नुभयो ।
स्वतन्त्र सांसद योगेन्द्र मण्डलले विराटनगर रङ्गेलीमा निर्माणाधीन हुलाकी राजमार्गको काममा भइरहेको ढिलासुस्तीबारे चर्चा गर्दै स्थानीयवासीलाई धुलो र हिलोको समस्या समाधान गर्न माग गर्नुभयो ।
नेपाली कांग्रेसका सांसद नागिना यादवले केही दलका सांसदले सदनमा अप्रमाणित विषयमा पटकपटक धारणा राखेका कारण सांसदहरुको मर्यादा र गरिमामाथि प्रश्न उठेको बताउनुभयो ।
नेकपा(एमाले)का सांसद तारा लामा तामाङले कञ्चनपुरको कृष्णपुरमा एक महिलाको छाउगोठमा मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतक परिवारलाई उचित राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।