काठमाडौँ, २८ असार : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा वामपन्थी शक्तिबीच धु्रवीकरणका लागि प्रयास भइरहेको बताउनुभएको छ ।
पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई आज सम्बोधन गर्दै उहाँले अहिले देशको आर्थिक, राजनीतिक तथा सामाजिक सङ्कटको समाधानका लागि ध्रुवीकरण आवश्यकता रहेको बताउनुभयो ।
कम्युनिष्ट पार्टीप्रति जनताको भरोसा र विश्वास रहेको बताउँदै अध्यक्ष नेपालले सिद्धान्तमा निष्ठावान तथा जनताप्रति समर्पित वाम समूहको एकता अपरिहार्य रहेको विचार व्यक्त गर्नुभयो । उहाँले मुलुकको राजनीतिलाई सही दिशानिर्देश गर्न कम्युनिष्ट शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
पूर्वप्रधानमन्त्री नेपालले परिवर्तनलाई संस्थागत गर्न सुशासन, रोजगारी, जनतालाई सेवा प्रवाहको विषय प्राथमिकतमा राख्नुपर्ने उल्लेख गर्नुभयो । पतञ्जली जग्गा सट्टापट्टा प्रकरण मन्त्रिपरिषद्को नीतिगत निर्णय भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ वर्ष अगाडि तामेलीमा राखेको बताउँदै उहाँले राजनीतिक षड्यन्त्रका कारण आफूलाई उक्त विषयमा मुद्दा दायर गरिएकामा असन्तुष्टि व्यक्त गर्नुभयो ।
पार्टीलाई कमजोर तथा राजनीतिक रूपमा असहज बनाउन आयोगले मुद्दा दायर गरेको उल्लेख गर्दै उहाँले अदालतबाट न्याय प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
आफूले जीवनमा एक पैसा पनि घुस नलिएको बताउँदै अध्यक्ष नेपालले आफूमाथि मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार गर्न तयार रहेको बताउनुभयो । आफूमा पार्टी बनाउने आँट रहेको र विभिन्न चुनौतीको सामना गरेर अघि बढ्ने उहाँको भनाइ थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















