07/11/2025, 20:37:49

केरा गाउँ ‘बाँस्टारी’


वालिङ (स्याङ्जा), २७ असारः स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बाँस्टारीका अधिकांश कृषकले केराखेती गरेका छन् । बाँस्टारीका ३५ घरमध्ये अधिकांशले व्यावसायिक र केहीले घरायसी प्रयोजनका लागि बारीमा केरा लगाएका छन् ।

बाँस्टारीमा विसं २०३६ आसपासमा स्थानीय प्रेमनारायण गौडेलले दुई वटा केराका उत्पादन सुरु गर्नुभएको थियो । पछि त्यसलाई विस्तार गरेर व्यावसायिक केराखेती थाल्नुभएको छ ।

यहाँ धेरैजसोले आफ्नै जग्गा जमिन वा जमिन भाडामा लिएर पनि केराखेती गरिरहेका छन् । कालीगण्डकी नदी किनारमा फैलिएको समथर फाँटमा अवस्थित बाँस्टारी माटो तथा हावापानीका दृष्टिले पनि केराखेतीका लागि उपयुक्त छ । करिब ४५ वर्षअघि आफ्नो बुवाले लगाएको केराखेतीलाई पछिल्ला दिनमा विस्तार गर्दै व्यावसायिक रूपमा अगाडि बढाएको कृषक रविलाल गौडेलले बताउनुभयो । उहाँले तीन रोपनी क्षेत्रफलमा व्यावसायिक केराखेती गर्नुभएको छ ।

गौडेलले हरिसाल र झापाली मालभोग जातका केराखेती गगरेको बताउनुभयो । गत वर्ष कालीगण्डकी गाउँपालिकाले व्यावसायिक केराखेतीमा जोड दिँदै केराका बेर्ना तथा अन्य सहयोग गरेको पछि आफूलाई थप हौसला मिलेको उहाँको भनाइ छ । “अन्य बालीबाट भन्दा केराखेतीबाट राम्रो आम्दानी लिन सफल भएका हौँ । बिरुवा लगाएको करिब १५ महिनामा उत्पादन लिन सकिन्छ, हाल केरा बिक्रीबाट वार्षिक रु एक लाख आम्दानी भइरहेको छ । आगामी दिनमा पाँच लाखसम्म आम्दानी लिन सकिन्छ भनेर व्यवस्थापनमा लागिरहेको छु”, कृषक गौडेलले भन्नुभयो ।

बाँस्टारीकै चन्द्रकान्त न्यौपानेले व्यावसायिक केराखेती गर्न थालेका १३ वर्ष भयो । उहाँले हाल नौ रोपनी क्षेत्रफलमा झापाली मालभोग जातको केरा लगाउनुभएको छ । तीन रोपनी आफ्नो र छ रोपनी जग्गा भाडामा लिएर केराखेती गरिरहेको र यसबाट वार्षिक रु दुई लाख गरिरहेको उहाँले बताउनुभयो । “यहाँ केरा उत्पादन गर्न सके बजारको कुनै समस्या छैन । केरा खरिदका लागि व्यापारी केराबारीमै आउछन् । हाल व्यापारीलाई प्रतिदर्जन रु ७०/८० का दरले बिक्री गरिरहेको छु”, न्यौपानेले भन्नुभयो ।

विगतमा मकै, कोदो, सिल्टुमलगायत खाद्यान्न बाली लगाउँदै आएको बारीमा व्यावसायिक केराखेती गरेपछि आम्दानी राम्रो हुँदै गएको कृषकहरूको भनाइ छ । यहाँ धेरैजसोले केराखेती गरेका छन्, तर बेलाबेला गबारो, कोसामा कालाकाला थोप्लाहरु देखिने तथा गुवोमा असिना लागेर उत्पादनमा कमी आउने गरेको छ ।

बाँस्टारीमा सबैगरी करिब १५० रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा केराखेती भइरहेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..