काठमाडौँ, २५ असारः विश्वभर समस्याका रूपमा देखिएको आतङ्कवादी क्रियाकलाप दक्षिण एसियाली क्षेत्रमा बढ्न थालेपछि नेपालले पनि यस विषयलाई गम्भीर रूपमा लिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (नाइस)द्वारा आज यहाँ आयोजित ‘दक्षिण एसियामा आतङ्कवादः क्षेत्रीय शान्ति र सुरक्षाका चुनौती’ विषयक गोष्ठीका वक्ताले आतङ्कवादी क्रियाकलापमा नेपालको भूमि प्रयोग हुन नदिनेतर्फ सबै खालका प्रयास र पहल थालिनुपर्नेमा जोड दिएका हुन् । खुला सीमाना, सम्पत्ति शुद्धीकरण तथा अवैध विदेशी मुद्राको कारोबार, लागुऔषध, साइबर सुरक्षा लगायतका चुनौती नेपालका सामु रहेको उल्लेख गर्दै कार्यक्रमका वक्ताले ती समस्याको निवारणका लागि आन्तरिक तथा बाह्य दुवै पहल गरिनुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका सांसद एनपी साउदले नेपाल भूराजनीतिक रूपले संवेदनशील स्थानमा रहेको उल्लेख गर्दै आतङ्कवाद नियन्त्रणका लागि नेपालको नीति स्पष्ट हुनुपर्ने बताउनुभयो । “हाम्रो सीमाना एकातर्फ चीनको संवेदनशील क्षेत्र मानिने तिब्बतसँग जोडिएको छभने अर्कोतर्फ भारतसँग खुला सीमाना छ । यसअर्थमा पनि हामी भूराजनीतिक ढङ्गले संवेदनशील क्षेत्रमा छौँ”, उहाँले भन्नुभयो, “नेपालले आतङ्कवादका विरुद्ध आफ्नो स्पष्ट धारणा राख्दै आएको छ । यद्यपि, यसको सम्बन्ध भूगोल, सीमा, धर्म, राजनीतिक अतिवादजस्ता जुनसुकै कुरामा जोडिएको हुनसक्ने भएकाले हामी चनाखो हुनुपर्छ ।”
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अध्यक्ष राष्ट्रका हैसियतले नेपालले भारत र पाकिस्तानबीच पछिल्लो समय देखिएको विवाद निरुपण तथा यस क्षेत्रमा आउन सक्ने सम्भावित खतरा टार्न पहल गर्नसक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले आतङ्कवाद नियन्त्रण सबै देश, क्षेत्रीय सङ्घ सङ्गठन तथा निकाय र पक्षको सामूहिक जिम्मेवारी रहेको बताउनुभयो । “हामीले आतङ्कवाद नियन्त्रणका लागि हाम्रा कुटनीतिक तौरतरिकामा पनि बदलाव ल्याउनु जरुरी छ । पुरातन शैलीले काम नगरेको अवस्थामा कुटनीतिक प्रयास फरक तरिकाले अघि बढाएर समस्या समाधान गर्न सकिन्छ”, उहाँले भन्नुभयो । सार्क र विमस्टेकजस्ता क्षेत्रीय सङ्गठनलाई थप प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाली कांग्रेसका सांसद चन्दा चौधरीले राजनीतिक अस्थिरता, सीमा विवाद, धार्मिक कट्टरवाद, आर्थिक असमानताजस्ता कारणले आतङ्कवाद नियन्त्रणमा चुनौती थपिएको उल्लेख गर्दै यस्ता क्रियाकलापमा नेपालको भूमि प्रयोग हुन नदिनेतर्फ सजग हुनुपर्ने बताउनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञ सुनिलबहादुर थापाले पछिल्लो समय विश्व व्यवस्था र शक्ति सन्तुलनमा फेरबदल भइरहेकाले यसले अस्थिरता सिर्जना गरेको बताउनुभयो । विभिन्न देशबीच देखिएको टकराव र द्वन्द्वको स्थिति समाधान गर्न कुटनीतिक संवाद र प्रजातान्त्रिक विधि तथा प्रक्रिया अबलम्बन गरिनुपर्ने उहाँको भनाइ छ ।
नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले दक्षिण एसियाली क्षेत्रका दुई आणविक शक्ति भारत र पाकिस्तानबीचको वैमनस्यता तथा द्वन्द्वको स्थितिले समग्र दक्षिण एसियाली क्षेत्र प्रभावित हुने बताउनुभयो । नेपालका लागि सबै मुलुक, विकास साझेदार तथा दातृ निकायसँगको सम्बन्ध उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्दै रिजालले आफ्नो असंलग्न र तटस्थ परराष्ट्र नीतिलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नाइसका निर्देशक सुमित्रा कार्कीले पछिल्लो समय विभिन्न देशबीचको बढ्दो तनावसँगै खासगरी दक्षिण एसियाली क्षेत्रमा भारत तथा पाकिस्तानबीचको द्वन्द्वको प्रभाव नेपालमा देखिन सक्ने उल्लेख गर्नुभयो । सबै खालका आतङ्कवादी र अवैध क्रियाकलाप नियन्त्रणका लागि पहल गरिनुपर्नेमा जोड दिनुभयो ।
जम्मु–कश्मीरको पहलगाममा तथा इजरायल–हमास युद्धमासमेत नेपालीले ज्यान गुमाएको विषय गम्भीर भएकाले विश्वका जुनकुनै स्थानमा भएपनि नेपाली सुरक्षित भएर बस्ने वातावरणका लागि आतङ्कवादी क्रियाकलापका विरुद्ध पहल चाल्नुपर्ने कार्यक्रमका वक्ताहरुको जोड थियो ।