काठमाडौँ, २४ असार : नेपाल विद्युत् प्राधिकरणले ऊर्जा मिश्रण अवधारणा अन्तर्गत नौ सय ६० मेगावाट क्षमता बराबरको सौर्य परियोजनाको आवश्यक प्रक्रिया अगाडि बढाएको छ । त्यसमध्ये आठ कम्पनीको एक सय ७० मेगावाट बराबरको सौर्य आयोजनाको विद्युत् खरिद सम्झौता सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिनुभयो ।
यस्तै, चार हजार नौ सय ६६ मेगावाट क्षमताका जलविद्युत् आयोजनाको ग्रीड कनेक्सन एग्रिमेन्टको प्रावधानअनुसार विद्युत् खरिद सम्झौताको प्रक्रिया अगाडि बढाइएको छ । प्राधिकरणले एक सय दुई मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन प्रक्रिया आरम्भ गर्न लागिएको उहाँले जानकारी दिनुभयो । सो आयोजनाको मुख्य सुरुङमा पानी चुहिने समस्या देखिएको थियो । सो समस्यासमेत समाधान भइसकेको जानकारी दिँदै कार्यकारी निर्देशक शाक्यले गत वर्षको बाढीपहिरोका कारण समस्याग्रस्त भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई मर्मत गरी पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको उल्लेख गर्नुभयो ।
प्राधिकरणमा हाल सिर्जित दायित्व तथा प्राधिकरणमा देखिएको तरलता व्यवस्थापनका लागि रु १० अर्ब बराबरको अल्पकालीन ऋण लिन अर्थ मन्त्रालयबाट सैद्धान्तिक सहमति प्राप्त भएको उहाँको भनाइ छ । उत्पादन प्रसारण र वितरण प्रणालीको विस्तार, विद्यमान संरचनाको स्तरोन्नतीलगायत कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न रु २० अर्ब बराबरको ऋणपत्र जारी गर्न पनि अर्थले प्राधिकरणलाई स्वीकृति दिएको छ । प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त भएको १०० दिन पुगेको अवसरमा विवरण सार्वजनिक गर्दै उहाँले डिजिटल एनइए निर्माणलाई प्रभावकारी रूपमा अगाडि बढाइएका बताउनुभयो ।