07/07/2025, 19:24:49

प्रधानमन्त्री ओलीद्वारा स्पेन भ्रमणका उपलब्धिबारे संसद्लाई जानकारी


काठमाडौँ, २३ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तरराष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे संसद्लाई जानकारी गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर प्रधानमन्त्री ओलीले उक्त सम्मेलनले आर्थिक कूटनीतिका लागि विश्वस्तरमा नयाँ साझेदारी वृद्धि गर्दै दिगो विकास लक्ष्यपूर्तिमा थप गति दिन योगदान दिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले उक्त सम्मेलनपूर्व यही असार १४ गते प्रतिनिधिसभाको बैठकमा सम्मेलन र भ्रमणका कार्यसूचीबारे जानकारी गराउनुभएको थियो । सम्मेलनका लागि प्रधानमन्त्री ओली यही असार १४ गते त्यसतर्फ प्रस्थान गरी असार २० गते स्वदेश फर्कनुभएको थियो ।

सम्मेलनमा प्रधानमन्त्री ओलीले अतिकम विकसित मुलुकका तर्फबाट अगुवाइ गर्दै सम्बोधनका क्रममा यी मुलुकको न्यायपूर्ण एवं आर्थिक सामाजिक विकासका पक्षमा वकालत गरेको जानकारी गराउनुभयो । सेभिया प्रतिबद्धताको कार्यान्वयनबाट ती मुलुकले आफ्नो स्तरोन्नतिका लागि विश्वस्तरको साथ र सहयोग प्राप्त हुने अपेक्षा गर्दै प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति हुन लागेको अवगत गराउनुभयो ।

सम्मेलनका अवसरमा अति कम विकसित राष्ट्रहरुको समूहको बैठकलाई अध्यक्षतासहित सम्बोधन, विभिन्न साइलाइड वार्ता र गोलमेच सम्मेलनमा आफ्नो नेतृत्व, वकालत प्रतिबद्धताबारे सदनलाई प्रधानमन्त्री ओलीले जानकारी गराउनुभयो ।

चवालिस वटा अतिकम विकसित मुलुकहरु रहेकामा नेपालले उक्त सम्मेलनका अवसरमा ती मुलुकहरु सामु प्रभावकारी नेतृत्व गर्न सक्के झल्को दिएको उहाँले स्पष्ट गर्नुभयो । सम्मेलनको अघिल्लो दिन प्रधानमन्त्री ओलीले नागरिक समाजको भेलालाई सम्बोधन गरी सशक्त नागरिक समाजको खबरदारीपूर्ण भूमिकाको लागि आह्वान गर्नुभएको थियो । नेपालले नागरिक समाजका लागि लोकतान्त्रिक र उदार व्यवस्था लिएको पनि प्रधानमन्त्री ओलीको भनाइ छ ।

सम्मेलनका अवसरमा प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री (स्पेन सरकारका अध्यक्ष) पोद्रो साञ्चेजबीच दुईपक्षीय भेटवार्ता भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ