पाटन (ललितपुर), २३ असार : ललितपुरको गोदावरी नगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा भएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता : पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आज नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा गरिएको हो ।
जिल्लाका छवटा स्थानीय तहहरूमध्ये गोदावरी पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा हुने अन्तिम स्थानीय तह हो । यसअघि ललितपुरको दक्षिण पूर्वीभेगमा रहेको महाँकाल गाउँपालिकाले २०८२ वैशाख ३१ गते, काठमाडाँै उपत्यकाभित्रै पर्ने महालक्ष्मी नगरपालिकाले जेठ ११ गते, बागमती गाउँपालिकाले जेठ १३ गते, कोन्ज्योसोम गाउँपालिकाले जेठ ३१ गते र ललितपुर महानगरपालिकाले असार १८ गते पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा गरेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर भुवन पौडेलले जानकारी गराउनुभयो ।
पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँलले खोप सुनिश्चितताका लागि अहोरात्र खटिने स्वास्थ्यकर्मी, स्वयंसेविकाहरूको प्रशंसा गर्नुभयो ।
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले वडा तहदेखि नगरपालिकासम्म खोप सुनिश्चिता भएसँग यसलाई जारी राख्न सबै क्रियाशील हुनुपर्छ भन्नेमा जोड दिनुभयो । उहाँले कुनै पनि बालबालिका खोपबाट वञ्चित हुनु हुँदैन भन्दै यसमा ध्यान दिन आग्रह गर्नुभयो । सबै बालबालिकाहरूले खोप पाएका कारण अपाङ्गता र मृत्युुदर घटन गएको भन्दै खोपको व्यवस्थापनलाई ध्यान दिन आग्रह गर्नुभयो ।
उहाँले गोदावरी नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेका कामको सबैतिर प्रशंसा भइरहेको भन्दै सेवासँगै नागरिकको मन जित्ने गरी सीमित स्रोतलाई उपयोग गर्दै सकारात्मक भावका साथ काम गर्न आग्रह गर्नुभयो ।
गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीले महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो क्षेत्रमा रहेर कर्तव्यनिष्ठ भई काम गरेका कारण यो परिणाम हात लागेको भन्दै स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्न समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।
“सबै वर्ग र क्षेत्रलाई समेटेर लैजानुपर्ने दायित्व स्थानीय सरकारको छ, पूर्णखोप सुनिश्चितता तथा दिगोपना सहज छैन, यो कठिन कार्यमा लाग्ने सबैले प्रशंसनीय काम गर्नुभएको छ, यसमा धन्यवाद भन्न चाहान्छु,” उहाँले भन्नुभयो ।
गोदावरी नगरपालिका–५ का अध्यक्ष एवं नगरका प्रवक्ता मिलन सिल्वालले गोदावरी नगरपालिका पूर्णखोप सुनिश्चित घोषणासँगै यसलाई दिगोपना कायम गर्ने कार्य चुनौतीपूर्ण रहेको भन्दै ध्यान दिएर क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहमा काम गर्ने जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीहरूले स्थानीय तहमा भएको स्रोत र साधनलाई भरपुर उपयोग गर्दै सम्पादन गरिरहेको कामको प्रशंसा गर्नुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका खोप अधिकृत राजाराम कार्कीले ललितपुरका सबै स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भइसकेको बताउँदै घरघुरी सर्वेक्षण गरेर सबै बालबालिकालाई खोप दिइसकेको जानकारी गराउनुभयो । उहाँले स्थानीय सरकार र सङ्घीय सरकारको प्रतिबद्धताअनुसार प्रत्येक वर्ष यसलाई ध्यान दिँदै निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सन् २०३० सम्म महिलामा हुने पाठेघरको क्यान्सर न्यूनीकरण गर्ने नेपाल सरकारको नीतिअनुसार निःशुल्क खोप अभियान सञ्चालन भइरहेको भन्दै बालबालिकालाई १३ प्रकारका खोप निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको बताउनुभयो ।
राष्ट्रिय खोप कार्यक्रम बाल मृत्युदर घटाउने अभिप्रायले लागू गरिएको नेपाल सरकारको प्राथमिकता प्राप्त कार्यक्रम हो । हरेक वर्ष राष्ट्रिय खोप कार्यक्रममा १५ महिनामुनिका बालबालिकाले क्षयरोग, रोटा, पोलियोमाइलाइटिस, न्युमोनिया, मेनिन्जाइटिस, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, जापानिज इन्सेफ्लाइटिस, दादुरा, रुबेला र टाइफाइडसमेत १३ प्रकारका सरुवा रोगहरू विरुद्धका खोपहरू प्राप्त गरेको र गर्भवती टी.डी., धनुष्टङ्कार र भ्यागुते रोग विरुद्धको खोप प्राप्त गरिसकेको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा गरिएको हो ।
राष्ट्रियस्तरमा २०३४ सालमा सुरू भएको खोप अभियानलाई अहिले दिगो विकास लक्ष्यको एउटा सूचक मानेर देशैभर स्थानीय तहदेखि जिल्ला हुँदै प्रदेश र देशलाई नै पूर्णखोपयुक्त घोषणाको तयारीअनुसार काम भइरहेको छ । पूर्णखोप सुनिश्चितताका लागि तोकिएअनुसारका खोपहरू प्राप्त गर्नु हरेक बालबालिकाको नैसर्गिक अधिकारका रुपमा कानुनी व्यवस्था गरिएको छ । खोपकै कारण नेपालमा बालमृत्युदर, मातृमृत्युदर घट्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ ।
सन् २०१५ मा नेपाललगायत संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रले अनुमोदन गरेका दिगो विकासका लक्ष्य हासिल गर्ने नीतिअनुरुप पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा अभियान देशैभर जारी रहेको छ ।