09/06/2025, 01:21:01
शुक्रबार, भदौ २०, २०८२

एकीकृत समाजवादीको सचिवालय बैठक मङ्गलबार पुन: बस्ने


काठमाडौँ, २३ असार : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक यही असार २४ गते पुनः बस्ने गरी स्थगित भएको छ । बैठकमा नेताहरुले धारणा राख्ने क्रम जारी रहेकाले पुनः बस्ने गरी स्थगित गरिएको हो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय पार्टी कार्यालयमा बसेको बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, समाजवादी मोर्चाका गतिविधि, वामपन्थी शक्तिबीच एकता लगायत विषयमा छलफल गरिएको हो ।

अध्यक्ष नेपाललाई विशेष अदालतमा दायर भएको मुद्दा, संसदीय दलको नेताको विकल्प, पार्टी नेतृत्वका बारेमा उठेका कानुनी एवं व्यावहारिक पक्षका बारेमा छलफल गरिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो ।

पार्टी नेतृ रामकुमारी झाँक्रीलाई सोधिएको स्पष्टिकरणका बारे छलफल गरिएको बैठकमा पार्टी निकट जनवर्गीय सङ्गठनका कार्यप्रगतिको समीक्षा, आन्तरिक विवाद समाधानबारे समीक्षा गरिएको छ ।

मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, विभागलाई पूर्णता दिने तथा नेताहरूको जिम्मेवारी, पार्टीको आगामी रणनीतिका विषयमा छलफल गरिएको जनाइएको छ ।