07/06/2025, 23:31:41

विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन समय माग


काठमाडौँ, २२ असारः प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको बैठकले ‘विद्यालय शिक्षा विधेयक–२०८०’ मा सहमति जुटाउन पाँच दिनको समय दिएको छ ।

समितिको आजको बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयकमा सहमति जुटनका लागि थप समय माग गरेपछि समितिले पाँच दिनको समय दिएको समिति सभापति अमरवहादुर थापाले बताउनुभयो ।

बैठकमा शिक्षामन्त्री पन्तले विधेयकमा शिक्षक महासङ्घसँग केही बुँदामा कुरा नमिलेकाले समिति समक्ष समय माग्नुभएको थियो । उहाँले विधेयकलाई छिटो टुग्याउन आफू प्रयत्नरत रहेको बताउनुभयो ।

विधेयक बनाउँदा सरोकारवाला पक्षको भूमिका महत्वपूर्ण हुन्छ”, उहाँले भन्नुभयो, “शिक्षक महासङ्घसँग धेरै कुरा मिलेपनि केही कुरामा मिल्न बाँकी छ । त्यसका लागि मलाई केही समय चाहिन्छ ।

समिति सदस्य श्याम घिमिरेले शिक्षक महासङ्घसँग केही कुरा मिल्न बाँकी भएकाले विधेयकलाई टुग्याउनका लागि केही समय आवश्यक रहेको बताउनुभयो ।समिति सदस्य छविलाल विश्वकर्माले सरोकार पक्षको अपनत्व हुने गरी विधेयक जारी गर्नुपर्ने भन्दै नमिलेको कुरा मिलाउनतर्फ सबै लाग्नुपर्ने बताउनुभयो ।

समिति सदस्य विद्या भट्टराईले शिक्षकको बढुवा पारदर्शी तरिकाले हुनुपर्नेमा जोड दिनुभयो । समिति सदस्य सरिता भुसालले ५० वटा बैठक विधेयकका सम्बन्धमा बसेपनि अझै निचोडमा पुग्न नसक्दा आफूलाई दुःख लागेको बताउनुभयो । समिति सदस्य रेखा शर्माले विधेयकलाई त्यतिकै अड्काएर राख्न नहुने भन्दै चाँडो पारित गर्न आग्रह गर्नुभयो ।

समिति सदस्य देवेन्द्र पौडेलले समितिमा पार्टीको ह्वीप नलाग्ने भएकोले बहुमतले पास गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । समिति सदस्य ईश्वरी घर्तीले शिक्षकको बढुवा समितिले तोकेअनुसार हुनुपर्नेमा जोड दिनुभयो ।

समिति सदस्य सुमना श्रेष्ठले विधेयकमा शिक्षकको मात्र नभएर विद्यार्थीका कुरा पनि समेट्नुपर्नेमा जोड दिनुभयो । समिति सदस्य ज्ञानु बस्नेत सुवेदीले मिल्न नसकेका कुरालाई समितिबाटै नै मिलाएर लैजानुपर्नेमा जोड दिनुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ