५ असोज, काठमाडौं । लेबननमा इसराइलले गरेको मिसाइल आक्रमणमा हिजबुल्लाहका कमान्डरसहित ३१ जना मारिएका छन्। शुक्रबार बेरूतको दक्षिणी क्षेत्रमा ठूला ठूला भवनहरू रहेको इलाकामा इसराइलले मिसाइल आक्रमण गर्दा मृत्यु हुनेको संख्या ३१ पुगेको अन्तर्राष्ट्रिय समाचारसंस्थाहरूले जनाएका छन्। आक्रमणमा हिजबुल्लाहका कमान्डर अकिब इब्राहिम अकिल पनि मारिएको लेबननको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनी हिजबुल्लाहको एलिट युनिटका कमाण्डर थिए।
अमेरिकाले गत वर्ष मात्रै अकिलको विषयमा जानकारी दिनेलाई ७ मिलियन डलर दिने घोषणा गरेको थियो। ६३ जनाको मृत्यु हुनेगरी सन् १९८३ मा अमेरिकी राजदूतावासमा भएको आक्रमणमा अकिलको संलग्नता रहेको अमेरिकाको बुझाई छ। त्यस्तै बेरूतको मरिन ब्यारेकमा २४१ अमेरिकीको ज्यान जानेगरी भएको विस्फोटमा पनि अमेरिकाले अकिललाई दोषी ठहर गरेको छ। हिजबुल्लाहले उक्त आक्रमणमा आफ्ना १६ लडाकु मारिएको पुष्टी गरेको समाचार संस्था सिएनएनले उल्लेख गरेको छ।
इसराइली आक्रमणमा तीन बालबालिका र सात जना महिला तथा तीन जना सिरियाका नागरिक मारिएको बताइएको छ। आक्रमणमा परी ६८ जनाभन्दा बढी घाइते छन्। मिसाइल प्रहारपछि भवनहरू भत्किएर केही मानिसहरू पुरिएका थिए। केहीलाई मृत तथा केहीलाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
लेबनन र सिरियाका केही ठाउँहरूमा मंगलबार हिजबुल्लाह समूहका सदस्यले बोकेका हजारौं पेजरहरू एकसाथ विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको थियो भने लगभग तीन हजार घाइते भएका थिए। त्यसको भोलिपल्ट त्यसरी नै लेबननमा हिजबुल्लाह सदस्यले बोकेका वाकी-टकी अचानक विस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु र अरू ४०० जनाभन्दा बढी घाइते भएका थिए।
मंगलबारको आक्रमणमा मारिएका केहीको सामूहिक अन्तिम संस्कार भइरहेको ठाउँमा समेत बुधबार वाकी-टकी विस्फोट भएर केही हताहत भएका थिए। हिजबुल्लाहले पेजर विस्फोटमा इसराइलको हात रहेको दाबी गरेको छ। इसराइलले भने उक्त विस्फोटबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। देशबाहिर आफूले गर्ने खुफिया कारबाही र हत्याबारे इसराइल अरू बेला पनि बोल्दैन।
संयुक्त राष्ट्रसंघले सञ्चारमाध्यमका सामग्रीहरूमार्फत विस्फोट गराउनु अन्तर्राष्ट्रिय मानवअधिकार कानुन विपरीतको काम भनेको छ। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठकमा पेजर विस्फोटको विषयलाई लिएर लेबननका विदेशमन्त्री अबदल्लाह बऊ हबिब र संयुक्त राष्ट्रसंघका लागि इसराइलका राजदूत ड्यानी डेननबीच भनाभन भएको थियो।