07/06/2025, 00:53:27

दाहाल बाबुछोराको कविता सङ्ग्रह ‘वंशवृक्ष’ लोकार्पण


काठमाडौँ, २१ असार: वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल र उहाँका छोरा इञ्जिनियर अनिमेष दाहालको संयुक्त कविता सङ्ग्रह ‘वंशवृक्ष’ लोर्कापण गरिएको छ ।

साहित्यिक पत्रकार सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष एवं साहित्यकार दाहाल र उहाँका छोराद्वारा लिखित कविता सङ्ग्रहको लोकार्पण गरिएको हो ।

मिलाप पब्लिकेशन प्रालिले प्रकाशन गरेको यस कविता सङ्ग्रहमा पहिलो खण्डमा बाबुका १७ र दोस्रो खण्डमा छोराका १३ कविता समेटिएका छन् । यी कविता गद्य र मुक्त छन्दमा लेखिएका छन् ।

पत्रकार दाहालले व्यस्तता समयका बीच केही समय बचत गरेर यी कविता सृजना गरिएका भन्दै यस सङ्ग्रहको शीर्षकले बाबुछोरालाई साहित्य सिर्जनासँग जोडिएको प्रसङ्ग सुनाउनुभयो । छोरा अनिभेषसँग अमेरिका बसाइँका क्रममा आफूले रचना गरेका कविताहरू यस सङ्ग्रहमा समेटिएको उहाँले जानकारी दिनुभयो । कविता र कथा कुनै निश्चित समयका लागि मात्र नलेखिने भन्दै दाहालले साहित्यलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

रचनाकार अनिमेषले प्रवासबाट साहित्य क्षेत्रमा कलम चलाउँदै आउनुभएको छ । यस कविता सङ्ग्रहमा रचनाकारद्वयले राजनीतिक व्यङ्ग्य, समाजको चित्रण र प्रकृति चिन्तन गरेको कार्यक्रममा उपस्थित समीक्षकहरूले बताएका छन् । साहित्यकार तथा पत्रकार विनोद दाहाल र खेमनाथ दाहाललगायतले कविता सङ्ग्रहबारे चर्चा गर्नुभएको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ