काँक्रेविहार (सुर्खेत), २१ असार : प्रमुख प्रतिपक्षी दलसँगको लामो विवादपछि अन्ततः कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पारित भएको छ । आजको प्रदेशसभा बैठकले रु ३२ अर्ब ९९ करोडको बजेट बहुमतद्वारा पारित गरेको हो ।
आर्थिक मामिला तथा योजनामन्त्री राजविक्रम शाहले यही असार १ गते मध्यराति बजेट प्रस्तुत गरेसँगै विवादको सुरु भएको थियो । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बजेट निर्माण प्रक्रियामा त्रुटि भएको र योजना छनोटमा सरकारमै रहेकाहरूले बेइमानी गरेको आरोप लगाएको थियो । विपक्षी माओवादी केन्दले पटकपटक प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो ।
प्रतिपक्षीको लगातारको अवरोधपछि मुख्यमन्त्री यमलाल कँडेलले विवाद समाधानका लागि पहल गर्नुभयो । उहाँले प्रमुख प्रतिपक्षी दलसँग छलफल गरेर सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेको हो । सोही सहमतिका आधारमा आज बजेटमाथिको छलफल टुङ्ग्याइएको छ ।