बैतडी, २० असारः गृहमन्त्री रमेश लेखकले अहिलेको संविधानको रक्षा गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीले आज यहाँ आयोजना गरेको भेटघाट तथा अन्तरक्रियामा गृहमन्त्री लेखकले पछिल्ला ७० वर्षमा नेपालमा सातओटा संविधान फेरिएको चर्चा गर्दै वर्तमान संविधान बमोजिमको व्यवस्थालाई अगाडि बढाउनुको विकल्प नभएको बताउनुभयो ।
उहाँले राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र एमालेबीच गठबन्धन बनेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “हामी अहिले दुई ठूला प्रतिस्पर्धी दल मिलेका छौं । यसको एउटामात्रै कारण छ । यो व्यवस्थालाई जोगाउने र राजनीतिक स्थायित्व कायम गर्न जरुरी छ ।” देशमा पछिल्लो समयमा भएको परिवर्तनलाई जोगाएमात्रै समृद्धि सम्भव रहेको उहाँले बताउनुभयो ।
अहिलेको सरकार सात बुँदे सहमति अनुसार अगाडि बढिरहेको र यसकै आधारमा सञ्चालन हुने उहाँको भनाइ थियो । उहाँले दुई दलबीचको सहमतिअनुसार चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने समेत उल्लेख गर्नुभयो ।
पछिल्लो समय सरकारप्रति आइरहेका गुनासा सम्बोधन गर्न सरकार क्रियाशील रहेको बताउँदै मन्त्री लेखकले सरकार सञ्चालनमा केही सानातिना समस्या रहेपनि ती समस्याहरुलाई हल गरेर आफू अघि बढिरहेको उल्लेख गर्नुभयो ।
त्यस अवसरमा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले झुलाघाट मोटरेबल पुल निर्माणका लागि भारतसँग आवश्यक सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै महाकाली करीडोरमा बजेटको समस्या रहेको बताउँदै यसमा आवश्यक बजेट विनियोजन गर्नुपर्ने माग गर्नुभयो ।
सभापति चन्दले जिल्ला अस्पताल बैतडीलाई ५० शय्याको अस्पतालको रुपमा स्तरोन्नति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । अस्पताल सञ्चालन गर्न भौतिक संरचना रहेको भएपनि दरबन्दी र अन्य व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
पारिवारिक भेटघाट र प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा पूजाआजाका लागि बैतडी आएका गृहमन्त्री लेखक यही असार २१ गते काठमाडौँ फर्कनुहुने तालिका छ ।