07/01/2025, 14:09:32

‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’


काठमाडौँ, १७ असारः माछाको फुल, तीतेकरेला र भ्यान्टाको समिश्रणबाट बनाइएको करेली माछाको तरकारी आहा ! कति आकर्षक जिब्रोमै झुण्डिने स्वाद ! वरिष्ठ सेफ गोविन्दनरसिंह केसीले पस्केको थाली सेटमा माछाको विशेष तरकारी हेर्दा जति आकर्षक थियो खादा पनि उत्तिकै जिब्रोमा भुण्डिने स्वादिलो थियो ।

असारको पन्ध्र । अपराह्न समय । बाहिर सिमसिमे पानी अनि सिलौटो कजेटभित्र मीठो सङ्गीतका साथमा नेपाली रैथाने खानाको परिकारको स्वादले वातावरणलाई थप रौनकता प्रदान गरेको थियो । खानाको प्रदर्शनी र तरङ्गिएको बास्नाले सबैलाई मन्त्रमुग्ध बनाएको थियो ।

विशिष्ट व्यक्ति र आगन्तुक पाहुनासहित सेफहरूले पस्केका खानाको परिकारमा सबै झुम्मिएका थिए । बागमती प्रदेशका सांसद दीपेन्द्र श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “अनामनगरस्थित सुप्रसिद्ध सिलौटो कजेटमा नेपाली खाना प्रवर्द्धन अभियान र अन्तरराष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारिक भोजनलिपि स्वादको चौथो संस्करण सङ्गीतमय वातावरणमा सहभागी हुँदै, मार्सी चामलको परिकारको खाना खाइयो, साह्रै मीठो, कति स्वादिलो आहा !

राष्ट्रिय धान दिवसको अवसर पारेर यही असार १५ गते सिलौटोमा आयोजित भोजनलिपि स्वादको चौथो संस्करणमा प्रस्तुत गरिएको पाककलामा आधारित माछाको परिकारले पाहुनाको ध्यान खिचेको थियो । सबैको जिब्रोमा स्वाद गडिएको थियो । साधना कला केन्द्रका कलाकारले मादल, बासुरीको सुमधुर धुनले उपस्थितलाई मन्त्रमुग्ध बनाएको थियो ।  विभिन्न प्रजातिका माछाको फुल सङ्कलन गरेर सेफ केसीले माछाको आकर्षक परिकार बनाउनुभएको हो । साल्मन, बुझवा, सोल, जलकपुरलगायत माछाको फुलको तरकारी बनाइएको सेफ केसीले बताउनुभयो ।

सेफ कँडेल र खड्काको पाककलामा आधारित भोजनलिपि स्वादको चौथो संस्करणमा प्रदर्शित खाना स्वादिष्ट हुनुका साथै आकर्षक देखिन्थ्ये । नेपाली रैथाने खानालाई आकर्षक रूपमा सजाइएको दृष्य रोचक थियो । सोल्टी होटलमा ३१ वर्ष सेफका रूपमा काम गर्नुभएका नेपालका पहिलो सेफ केसीको नेतृत्वमा भोजनलिपि स्वाद पस्किइएको हो । स्वदेशी तथा विदेशी राष्ट्रप्रमुख, विश्वचर्चित र ख्यातिप्राप्त ‘सेलिब्रेटी’लाई खानाको परिकार पस्किएका केसीले नेपाली खानाको विश्वव्यापी प्रवर्द्धनका लागि अभियानलाई साथ दिन अभिभावकीय भूमिका निर्वाह गरेको बताउनुभयो ।

भोजनलिपि स्वादको यस संस्करणअन्तर्गत पाहुनाको विशेष आग्रहबमोजिम माछाको फुलको तरकारी पस्किएको छु, यसलाई सहभागी सबैले रुचाइदिनुभयो । यो जीवनकै बेग्लै र फरक स्वाद लिएको प्रतिक्रिया दिनुभएको छ, यसले आफूलाई पनि हौसला मिलेको छ”, उहाँले भन्नुभयो ।

माछाको फुलको तरकारीसहित करेला र भ्यान्टाको मिश्रणबाट बनेको परिकार प्रस्तुत गरिएको थियो । केसी आफैँले कालीमाटीबाट माछा माग गरेर पाककला प्रस्तुत गर्नुभएको हो । उहाँले भन्नुभयो, “वितरकसँग तीन दिन अगाडि माछा माग गरेका थियौँ । यो अत्यन्तै स्वास्थ्यवर्द्धक र स्वादिलो परिकार हो । युरोपियन संस्कृतिमा ‘सी फुड’ अर्थात् माछालाई ‘ब्रेन्ड फुड’ पनि भनिन्छ । माछालाई सही किसिमले सदुपयोग गरिएमा मस्तिस्क तिखो हुने विश्वास गरिन्छ ।

सेफ केसीले भन्नुभयो, “माछाको फुललाई निकालेर केही समय फ्रिजमा राखिन्छ । थोरै नुन र बेसार हालेर उसिन्नुपर्छ । यसलाई करिब १५ देखि ३५ मिनेटसम्म पकाइन्छ । त्यसपछि चिसो पानी र आइस हालेर पुनःफ्रिजमा राखी माछाको पातलो जालो निकालेर टुक्रा पारिन्छ । सोही साइजको करेला र भ्यान्टा काटेर मिसाइन्छ । तोरीको दाना, करी पत्ता, सजिवनलगायत मसलाको प्रयोग गरिन्छ ।

सिलौटोमा सबै मसला पिनेर स्वाद तयार गरिन्छ । नेपाली वास्तुकला झल्किने, नेपाली संस्कृतिसँग सम्बन्धित नेपाली रैथाने खानाको प्रवर्द्धन गरिएको उल्लेख गर्दै सेफ केसीले सेफ कँडेलको भोजनलिपि स्वादको सोच र अवधारणालाई सार्थक बनाउन आफूले सक्रिय साथ दिएको उल्लेख गर्नुभयो ।

पहिलो रोजाइ डोमा लड्डु

भोजनलिपिको चौथो संस्करणमा सेफहरूले माछाको तरकारीबाहेक लौका र गाँजरलाई गलाएर सखरको समिश्रणमा बनेको डोमाको लड्डुको बेग्लै आकर्षण थियो । स्वादिष्ट र स्वास्थ्यवर्द्धक लड्डु पाहुना तथा ग्राहकको पहिलो रोजाइमा परेको थियो । गाजर र लौकलाई करिब छ घण्टाको मेहेनतमा बनाइएको डोमाको लड्डु पानको पातमा सजाइएको थियो ।

यस्तै मार्सी चामलको भात, ढिँडो, खस्रो च्याख्ला, खुट्टीको सुप, खसीको मासु, लोकल कुखुराको मासु, हाँसको छोयला, सिस्नोको सुप, हाँसको छोयला, फापर र आलुलाई मिसाएर बनाइएको रिकीपुरको विशेष प्रस्तुति थियो । मार्सी भात र कड्कनाथ करी, च्याँख्ला, डिँडोसँग खसीको करङ, नङ्ग्रे सपेटो, इन्द्रेणी मोमो, हाँसको छोइला, रिकीकुर, कन्चेम्वा, गोरस (मही), दही फ्रुट र चिउरा, करेसाबारी फलफूल सलादको प्रदर्शनी आकर्षक र रुचिकर थियो ।

भोजनलिपि स्वादका संस्थापक सेफ कँडेलले प्रदर्शनीको खाना हिमाल, पहाड र तराईका साथै जातजातिलाई समेटेर बनाइएको बताउनुभयो । उहाँका अनुसार रिकीकुर, थकालीलगायत खानाको परिकार पस्किने प्रयास गरिएको हो । चौथो संस्करणसम्म आइपुग्दा आफूमा हौसला बढेको भन्दै यसले स्वस्थ्यवर्द्धक खानाको प्रवर्द्धनमा मद्दत पुगेको बताउनुभयो ।

लड्डु, ढिँडो, च्याख्ला रिकीकुरलगायत परिकार कार्यक्रमको आकर्षण थिए । चौथो संस्करणमा राजनीति, समाजसेवी, सञ्चारजगतलगायत क्षेत्रको प्रतिनिधित्वसँगै खानाको परिकारप्रतिको हौसलाले आगामी दिनका संस्करणलाई थप आकर्षक बनाउन ऊर्जा मिलेको सेफ कँडेलले बताउनुभयो । उहाँले नेपालमा दक्ष सेफ जनशक्तिको अभाव रहेको बताउँदै अहिले पनि कतिपय रेष्टुरेन्ट र होटलमा तालिमप्राप्त सेफको अभाव खड्किएकाले अभियानमार्फत दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सिलौटो कटेजका सञ्चालक मिन भण्डारीले असारे झरीमा पनि धेरैभन्दा धेरै पाहुनाको सहभागितामा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको बताउनुभयो । उहाँले किसानले उत्पादन गरेका सामान ल्याएर मौलिक परिकार बनाई खानाको प्रवर्द्धन गरिरहेको उल्लेख गर्दै भोजनलिपि स्वाद अभियानसँग संस्थाले सहकार्य गरेर जाने प्रतिबद्धता जनाउनुभयो । उहाँका अनुसार सिलौटोले रैथाने परिकारको स्वादको सुनिश्चितताका लागि सिलौटोमा पिँधेको अचार, लोकल खसीको मासु, आगोमा कसौँडीमा पकाएको पक्कु, मसला आफैँ पिस्ने र माछा पोखरीबाटै ल्याएर पकाउने गरिएको छ ।

नेपाली खाना प्रवर्द्धन अभियानका संयोजक देवीप्रसाद सापकोटाले चौथो संस्करणसम्म आइपुग्दा कार्यक्रम प्रभावकारी भएको तथा खानाको स्वाद र गुणस्तरमा पनि सुधार आएको बताउनुभयो । भोजनलिपि स्वाद स्वदेश तथा विदेशमा सञ्चालन गर्ने तयारी रहेको उहाँले उल्लेख गर्नुभयो । नेपाली खाना प्रवर्द्धन अभियान र सिलौटो कटेजले आयोजना गरेको कार्यक्रममा विभिन्न जिल्लामा उत्पादित कृषिउपजबाट बनेका परिकार प्रस्तुत गरिएको थियो । नेपाली साङ्गीतिक धुनसहित प्रस्तुत संस्करणमा खानाका विभिन्न १५ प्रकारका परिकार राखिएको थियो ।

अभियानको संयोजनमा यसअघि तीन वटा भोजनलिपि स्वाद संस्करण आयोजना भइसकेको छ । हालसम्म करिब ४० जिल्लाका कृषिउपजका परिकार प्रस्तुत गरिएको थियो । अभियानले विस्तारै देशका ७७ जिल्लाका कृषिउपजलाई समावेश गर्ने लक्ष्य लिएको छ । अन्तरराष्ट्रिय स्वादका अध्येता सेफ कँडेलले पाककलासम्बन्धी विश्वस्तरीय पुस्तक ‘टिमुर’ प्रकाशन गरिसक्नुभएको छ ।

सेफ खड्कासँगको सहलेखनमा भोजनलिपि ‘कुकबुक’ प्रकासोन्मुख रहेको कँडेलले जानकारी दिनुभयो । नेपाली पाककला क्षेत्रका ख्याति प्राप्त गोविन्द नरसिंह केसी, गणेश ढकाल, लक्ष्मण भण्डारी, शिवहरि घिमिरे र नयाँ पुस्ताका पूर्ण श्रेष्ठ, इङ्वा सुब्बालगायत विभिन्न सेफहरूसँगको अनुभव आदानप्रदानले पनि भोजनलिपि स्वाद कार्यक्रमलाई थप प्रभावकारी बनाएको बताइएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ