11/23/2025, 15:18:12
आइतबार, मङि्सर ०७, २०८२

‘हाम्रो बाटो अप्ठ्यारो छ, तर अब सिकारीको इतिहास लेखिने छ’ : सन्तोष परियार


 

काठमाडौँ, मङ्सिर ७ गते। रास्वपा छोडेर प्रगतिशील लोकतान्त्रिक अभियानमा लागेका सन्तोष परियारले आफूहरू हिँड्न थालेको बाटो सहज नभएको बताएका छन् । यो थाहा हुँदाहुँदै सधैँ सजिलो बाटो हिँड्न छुट नभएको बताएका छन् ।

आज काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै परियारले अग्रज पुस्ताको अनुभव र जेन जेड पुस्ताको भावनालाई समेट्दै अघि बढ्ने बताए ।

 

‘अग्रज पुस्ता र जेनजी युवालाई सँगै लिएर हाम्रो पुस्ताले एउटा निकै ठूलो संघर्ष गर्ने बेला आएको छ, यही संघर्ष गर्ने क्रममा आज हामी वृहत् एकता घोषणा सभा गर्दै छौँ,’ प्रगतिशील राष्ट्रिय अभियानमा आबद्ध हुन सबैलाई आह्वान गर्दै परियारले भने, ‘यदि आज पनि यो समस्याबाट भाग्यौँ भने इतिहासले हामीलाई छोड्ने छैन, बेइमान पुस्ता भन्नलाई छोड्ने छैन । यसर्थ एउटा संघर्ष गरौँ । यो सजिलो बाटो त होइन । तर हामी सधैँ सजिलो बाटो हिँड्न पनि पाउँदैनौँ ।’

कार्यक्रमको अध्यक्षता समेत गरेका परियारले जेनजी आन्दोलनपछि विकसित घटनाक्रमले देश संकटमा परेको भन्दै उनले सबै वामपन्थी लोकतान्त्रिक प्रगतिशील पार्टीहरूलाई संकिर्णता छोडेर आफूहरूको अभियानमा जोडिन आह्वान गरेका छन् ।

उनले आजसम्म शासकका इतिहास लेखिएको भन्दै अब जनताका इतिहास लेखिने बताए । केही भनाइहरू उद्धृत गर्दै उनले भने, ‘रुख त आजभन्दा २० वर्ष पहिला नै रोप्नुपर्थ्यो तर आज चाहिँ ढिला गर्नु हुँदैन । जबसम्म शासकका तिनका इतिहास लेखिदिने इतिहासकारहरू हुनेछन् त्यतिबेलासम्म शिकारको होइन, सिकारीको इतिहास लेखिने छ । आजसम्म नेपालको इतिहासमा सिकारीको इतिहास लेखियो, शासनसत्तामा बस्नेहरूको लेखियो अब जनताको इतिहास लेखिने छ ।’


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..