11/23/2025, 15:45:19
आइतबार, मङि्सर ०७, २०८२

पार्टीभित्रका मठाधीशलाई धूपबत्ती गर्न छोडेर नयाँ पार्टी खोल्यौँ : जनार्दन शर्मा


काठमाडौँ, मङ्सिर ७ । पूर्वमन्त्री जनार्दन शर्माले तत्कालीन माओवादी केन्द्र पार्टीभित्रका मठाधीशलाई धुपबत्ती गर्न छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरेको दाबी गरेका छन् । राष्ट्रिय सभा गृहमा आइतबार पार्टी एकता घोषणा सभामा प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणपत्र सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।  जेनजी विद्रोहपछि पनि पुराना दल रूपान्तरण हुने लक्षण नदेखिएकाले नयाँ पार्टी गठन गरेको उनको दाबी थियो ।

‘पार्टीभित्रका मठाधीशलाई धूपबत्ती गर्न छोडेर हामीले प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरेका छौँ । जनयुद्ध गरेको माओवादीले पनि क्रान्तिकारी छवि बचाउन सकेन’, उनले भने, ‘कांग्रेसले ३६ वर्ष, एमालेले ३५ वर्ष, माओवादीले करिब १७ वर्ष सत्ता चलाए । दलहरू नातावाद, कृपावाद र भ्रष्टाचारमा लिप्त भए । ठुला भनिएका दलका नेता र कार्यकर्तालाई दुनियाँ कहाँ पुग्यो पत्तै भएन । दलहरूको प्रष्टीकरणको विरुद्ध हामीले नयाँ पार्टी खोलेका हौँ ।’

शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टी कुनै एक दल थप्ने नभई राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरण गर्नका लागि साधनको रूपमा स्थापना भएको जिकिर गरे । जेनजी विद्रोह राजनीतिक दलका सांस्कृतिक प्रष्टीकरण, सत्तामा म्युजिक चियर सामाजिक सञ्जाल खुला र नेतृत्वको हस्तान्तरण भएको उनले बताए । तर जेनजी विद्रोहको भावना विपरीत ठुला दलका नेताहरू लागेको शर्माले आरोप लगाए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..