काठमाडौँ, १७ असारः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन २०८२ मङ्सिर महिनामै गर्नुपर्ने बताउनुभएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको आजदेखि सुरु भएको बैठकमा बोल्दै नेता डा कोइरालाले निर्धारित समयमै पार्टीको १५औँ महाधिवेशन हुनुपर्छ भन्नेमा आफू दृढ रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “यदि हुन सक्दैन भने के कारणले र किन हुन सक्दैन सभापति र पदाधिकारीले चित्त बुझ्दो जवाफ दिनुपर्छ ।”
नेता डा कोइरालाले वर्तमान सत्ता गठबन्धन निर्माण हुँदा भएकोे सात बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्दा कहाँ पुग्यो भनी प्रश्न गर्नुभयो । उहाँले पार्टीको अनुशासन समितिमा केन्द्रीय समितिभन्दा बाहिरका वरिष्ठ नेताहरुलाई राख्नुपर्ने धारणा व्यक्त गर्दै गठबन्धनका नाममा आफ्नो बलियो सिट अरु पार्टीलाई किन अरुलाई दिइएको हो भनी जवाफ माग गर्नुभयो ।
निर्वाचनका समयमा गठबन्धनका नाममा निष्ठावान र इमान्दार साथीहरूलाई टिकटबाट वञ्चित गरेर अहिले अनुशासन कारवाहीको कैँची चलाएर फेरि तिनै साथीहरूको राजनीति समाप्त गर्न खोजिन लागेको नेता डा कोइरालाले आरोप लगाउनुभयो । पार्टी बलियो बनाउन रुख चिन्हको उम्मेदवार नभएका निर्वाचन क्षेत्रमा स्वतन्त्र रूपले उम्मेदवार बनेका कांग्रेस नेता कार्यकर्तालाई एकपटकलाई माफी दिनुपर्ने उहाँको भनाइ थियो ।
नेविसङ्घ, तरुण दल, महिला सङ्घको अहिलेको ठूलो समितिले अधिवेशन गर्न नसक्ने उल्लेख गर्दै नेता डा कोइरालाले पार्टीले जिम्मा लिएर अधिवेशन गराउनुपर्ने सुझाव दिनुभयो ।