06/28/2025, 21:45:49

एसइईको नतिजामा सुधार विद्यार्थी र शिक्षकको मेहनतले आएको हो : प्रधानमन्त्री ओली


काठमाडौँ, १४ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा आएको सुधार विद्यार्थी र शिक्षकको मेहनतका कारणले सम्भव भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी वर्ष अहिलेको तुलनामा अझ राम्रो नतिजा ल्याउनका लागि प्रयास गरिने समेत उल्लेख गर्नुभयो ।

एसइईको नतिजामा सुधार ल्याउन मेहनत गर्ने विद्यार्थी र शिक्षकलाई शुभकामना व्यक्त गर्दे उहाँले भन्नुभयो, “धेरै वर्षपछि एसइईको नतिजामा सुधार देखिनु खुसीको अवसर हो, ४८ प्रतिशतभन्दा कमको अवस्थाबाट ६१ दशमलव ८१ प्रतिशत सफल हुनु राम्रो हो ।

प्रधानमन्त्री ओलीले यो नतिजामा पनि केहीले भने नकारात्मक टिप्पणी गरेको उल्लेख गर्दै यो नतिजा र मेहनतलाई अपमान नगर्न आग्रह गर्नुभयो । “केहीले अङ्क थपेर पास गराइयो भनेर हचुवाको भरमा बिना आधार बोलिरहेका छन्, मेहनत गरेर विद्यार्थीले पास गरेको कुरालाई अपमान गर्ने र नयाँ पुस्ताको उत्साहलाई होच्याएको देख्दा दुःख लागेको छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले प्राकृतिक विपद्मा सरकारले प्राथमिकता राखेको समेत उल्लेख गर्दै उद्धार र राहतका लागि सरकारले तयारी गररहेको बताउनुभयो । “नेपाल प्राकृतिक प्रकोपले जोखिमयुक्त देश हो । मनसुनको समयमा कहाँ कति बेला क्षति पु¥याउन सक्छ आकलन गर्न सकिँदैन । यद्यपि हामीले राहत र उद्धारको पूर्व तयारी गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ