06/27/2025, 22:29:44

काँक्रेविहारलाई कर्णालीको आर्थिक केन्द्रका रूपमा प्रवर्द्धन गर्न सकिने : यामलाल कँडेल


काँक्रेविहार (सुर्खेत), १३ असारः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको काँक्रेविहारलाई कर्णालीको आर्थिक विकासको केन्द्रका रूपमा प्रवर्द्धन गर्न सकिने बताउनुभएको छ ।

आज वीरेन्द्रनगरमा आयोजित ‘काँक्रेविहार खोज, अनुसन्धान तथा पर्यटन महोत्सव एवं युवा, बालबालिका तथा विद्यार्थी सम्मेलन’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले काँक्रेविहारको महत्त्व बुझ्न र सम्भावनालाई उजागर गराउन सरोकार भएका सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “काँक्रेविहारलाई पर्यटकीय रूपमा लुम्बिनी प्रदेशसँग जोड्न सके यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक केन्द्र बन्न सक्छ ।” यो धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण क्षेत्र रहेकाले यसको प्रभावकारी रूपमा प्रचारप्रसार गर्न सके यसले समग्र कर्णाली प्रदेशको आर्थिक स्वरूप परिवर्तन हुने उहाँको भनाइ छ ।

काँक्रेविहारलाई खुला चिडियाखानाका रूपमा विकास गर्न चरणबद्ध योजना बनाएर कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले त्यसले शिक्षा, पर्यटन र रोजगारीका क्षेत्रमा सम्भावना खोल्दै जाने विश्वास व्यक्त गर्नुभयो । “पर्यटकीय पूर्वाधार, सूचना प्रविधि, वातावरण संरक्षण र स्थानीय सहभागितामार्फत काँक्रेविहारलाई व्यवस्थित गर्ने योजना जरुरी छ”, उहाँले भन्नुभयो, “हामीले विकासको कुरा मात्र नगरी सम्भावना बोकेका क्षेत्रको पर्यटन प्रवर्द्धनमा सबै मिलेर प्रभावकारी पहल गर्न जरुरी छ ।

तीनै तहका सरकार, नागरिक समाज, अनुसन्धानकर्ता, विद्यार्थी र निजी क्षेत्रबीचको सहकार्य र समन्वयबाट काँक्रेविहारको पहिचान विस्तार गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलले जोड दिनुभयो । उहाँले यस क्षेत्रका पर्यटकीय सम्भावना बोकेका प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र संवर्द्धनमा सहभागी भई उद्यमशीलताको अवसर खोज्न स्थानीय युवालाई आह्वान गर्नुभयो । कार्यक्रममा विभिन्न तहका विद्यार्थी, युवा अभियन्ता, अनुसन्धानकर्ताको उपस्थिति थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ