06/26/2025, 12:02:05
बाआमासँग नगरप्रमुख, निःशुल्क स्वास्थ्य परीक्षण र उपचार

‘स्थानीय तहद्वारा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण’


बुटवल, १२ असारः बुटवल उपमहानगरपालिकाले नगरमा बसोबास गर्ने ज्येष्ठ नागरिकको घरदैलो स्वास्थ्य उपचारबाट वृद्धवृद्धा हर्षित भएका छन् ।

बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयसहितको स्वास्थ्यकर्मीहरुको एक टोलीले २०८० माघ १ गते बुटवल–१२ तामनगरस्थित प्रगति टोलकी ११० वर्षीया ऐरावती बरईको घरमा पुगी स्वास्थ्य परीक्षण एवं उपचारको पहल गरेको थियो । उहाँका साथमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा नन्दु पाठकसहितको चिकित्सकीय टोलीले ज्येष्ठ नागरिक बरईको स्वास्थ्य परीक्षण गर्नाका साथै फलफूल र स्वास्थ्यवर्धक सामग्री प्रदान गर्नुभएको थियो ।

बुटवल उपमहानगरले गत आर्थिक वर्ष २०८०÷८१ बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार कार्यक्रम सुरु गरेको थियो । बरईको उपचार सुरु गरेर अभियानको शुभारम्भ गरिएको थियो ।

अभियानअन्तर्गत ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण र उपचारका साथै फलफूल एवं स्वास्थ्यवर्धक सामग्री प्रदान गरिन्छ । घरमै पुगेर बाआमासँग नगरप्रमुख स्वास्थ्य उपचार अभियानबाट यस क्षेत्रका धेरै वुद्धवृद्धाहरु लाभान्वित भएका छन् । नगरले कोही पनि वृद्ध आमाबुबा स्वास्थ्य संस्थामा पुग्न नसकी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ यो अभियान सुरु गरेको नगरप्रमुख पाण्डेयले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पाका पुस्ताप्रति नगरको दायित्व पूरा गर्न र अपनत्व महसुस गराउन घरघरमै पुगेर उपचार सुरु गरिएको हो ।” अभियानले पाका पुस्ताले पनि सङ्घीयत अनुभूति गर्न सक्नुभएको छ । उहाँहरु भन्नुहुन्छ, “स्थानीय सरकार हाम्रो स्वास्थ्यप्रति संवेदनशील रहेको अनुभूति गराएको छ ।

बुटवल उपमहानगरले ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण र उपचार गर्न उक्त सेवा उपलब्ध गराएको हो । पछिल्लो समय धेरै ज्येष्ठ नागरिकका सन्तानहरु वैदेशिक रोजगारीमा जानेक्रम वृद्धि भएको छ जसले गर्दा घरमा वृद्धवृद्धा नागरिक मात्र बस्नुपर्ने बाध्यता सिर्जना भएको छ । यस्तो परिस्थितिमा ज्येष्ठ नागरिकको उपचारमा समस्या सृजना भएकाले यो अभियान सञ्चालन गरिएको नगर प्रवक्ता शिव राना बताउनुहुन्छ ।

नगरले कोही पनि वृद्ध आमाबुबा स्वास्थ्य संस्थामा पुग्न नसकी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ यो अभियान सुरु गरेको उहाँको धारणा रहेको छ । ज्येष्ठ नागरिकलाई घरमै गएर परीक्षण र उपचार गर्ने नगरको यो प्रयास ज्यादै उदाहरणीय र प्रशंसा योग्य रहेको ज्येष्ठ नागरिकको भनाइ छ । बुटवल–९ का ज्येष्ठ नागरिक ईश्वरी ज्ञवाली उपमहानगरका नगरप्रमुखसहित चिकित्सकको टोली घरमै आएर उपचार गर्दा खुसी लागेको बताउनुहुन्छ ।

उपमहानगरको टोली घरमै आएर निःशुल्क एक्स–रे, ज्वरो मापनसहित औषधि वितरण गरेको हो । नगरले ज्येष्ठ नागरिकलाई स्वास्थ्य चेकजाँच र निःशुल्क औषधि वितरणले उपचार उपलब्ध गराएको छ । बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार कार्यक्रम बुटवल उपमहानगरपालिकाको १९ वटा वडामा सञ्चालन भएको छ ।

अभियानका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा पाठक, स्त्रीरोग विशेषज्ञ डा राजेन्द्र बस्याल, फिजिसियन डा हरि पन्थीलगायत विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत तथा स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गर्दै आउनुभएको छ । नगरका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेका अनुसार बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार अभियानका क्रममा प्रयोगशालामा गरिने आवश्यक परीक्षण र औषधि निःशुल्क दिने व्यवस्था रहेको छ ।

सो अभियान कार्यक्रमबाट दुई हजार ६०० ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यस अवसरमा ३०० को भिडियो एक्स–रे गरिएको थियो । जनस्वास्थ्य शाखाप्रमुख पाण्डेले भन्नुभयो, “६० वर्षदेखि माथिका सबै पाका पुस्तालाई शिविरमा उपचार गरिएको थियो भने ७० वर्ष माथि उमेरका नागरिकलाई घरघरमै पुगेर स्वास्थ्य परीक्षण गरिएको थियो ।

बुटवल उपमहानगरपालिकाले गत वर्ष सञ्चालन गरेको ‘बाआमासँग नगरप्रमुख, निःशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रममा वडागत रुपमा के कति ज्येष्ठ नागरिकले यस कार्यक्रमबाट फाइदा लिए भन्ने विषयमा भने नगरसँग शाखामा कुनै तथ्याङ्क छैन । बुटवल उपमहानगरपालिकाले गत वर्ष सञ्चालन गरेको बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार कार्यक्रम नगरका अधिकांश ज्येष्ठ नागरिकलाई अभियानबारे थाहै नभएको बताउनुहुन्छ ।

बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँको मुक्तिनाथधाममा भजनकीर्तन गरिरहेका ज्येष्ठ नागरिकको समूहमा भेटिएका धेरै ज्येष्ठ नागरिक यस कार्यक्रमबारे आफूहरुलाई केही थाहा नभएको बताउनुभयो । बुटवल–१२ नयाँगाउँकी ८७ वर्षीय मुनिकला ज्ञवालीलाई यो कार्यक्रमले छुन सकेको छैन । एकल महिला ज्ञवालीले स्वास्थ्य उपचारका लागि नगरप्रमुख घरमा आएर स्वास्थ्य सेवा नपाएको बताउनुभयो ।

यसैगरी, सोही ठाउँमा बसोबास गर्ने ६३ वर्षीया उमा ज्ञवालीको विवाह भएको छ भने त्यतिबेलाबाटै एकल रुपमा बस्दै आएकी उमालाई पनि सो कार्यक्रमबारे केही थाहा नभएको बताउनुभयो । बुटवल–१२ कै ८१ वर्षीया बेलकुमारी कौडिण्यलाई पनि बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार कार्यक्रमको सेवा अहिलेसम्म प्राप्त नभएको बताउनुहुन्छ ।

यसैगरी, ७९ वर्षीया प्रेमकला खनाल र ८४ वर्षीया एकल महिला मनरुपा पौडेललाई पनि यस कार्यक्रमबारे जानकारी नभएको बताउनुभयो । केही ज्येष्ठ नागरिकले नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार कार्यक्रम थाहाभएको तर उपचार सेवा पाएको तर घरमा परीक्षण नभएको बताउनुहुन्छ ।

बुटवल–१ का ७० वर्षीय हरिबहादुर श्रेष्ठले नगरपालिकाको स्वास्थ्य शिविर टोलमा समयमा सेवा प्राप्त गरेको जानकारी दिनुभयो । उहाँले गत वर्ष प्राप्त भएको स्वास्थ्य शिविरका प्राप्त भएको उपचार सेवा यस वर्ष प्राप्त भएको बताउनुभयो । “उपचार सेवाबाट वञ्चित हुनुपर्ने हामी जस्ता पाका पुस्ताका लागि यो कार्यक्रम साहै्र राम्रो रहे पनि निरन्तर हुनुपर्नेमा जोड दिनुभयो ।

बुटवलका पाका पुस्ताले बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार कार्यक्रम निरन्तर हुनुपर्ने माग गरेका छन् । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख पाण्डेयले समय र कानुन अभावले अभियान ओझेलमा परेको बताउनुभयो । उहाँले गत वर्ष एकपटक मात्र ज्येष्ठ नागरिकको घरदैलोमा पुगेको बताउँदै कानुन निर्माण भएअनुसार अभियानलाई अब निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कानुन विना काम गर्न समस्या भएको थियो तर अब कानुन निर्माण भएकाले सोही अनुसार कार्य प्रारम्भ हुनेछ । हामी पाका पुस्तालाई घरमै पुगेर उपचार र परीक्षण गर्ने कार्यक्रमलाई निरन्तरता दिन्छौँ,” उहाँले भन्नुभयो ।

यसैगरी, तिलोत्तमा नगरपालिकाले ज्येष्ठ नागरिक अनुभवका खानी भएकाले उनीहरुको संरक्षण र सम्मान गर्नुपर्छ भन्ने उद्देश्यका लागि घरदैलो उपचार सेवा कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले ७० वर्ष पुगेका ज्येष्ठ नागरिकका लागि घरदैलो उपचार कार्यक्रम सुरु गरेको छ ।

स्वास्थ्य शाखाप्रमुख ज्ञानप्रसाद पौडेलका अनुसार ज्येष्ठ नागरिक घरदैलो कार्यक्रमअन्तर्गत स्वास्थ्यजाँच, निःशुल्क औषधि वितरण र मधुमेह जाँच गर्दै आएको छ । नगरको वडा नं ६ मा रहेको स्वास्थ्य संस्थामा ज्येष्ठ नागरिकका लागि आवश्यक स्वास्थ्य प्रयोगशाला परीक्षण सेवा उपलब्ध गराउँदै आएको छ । धेरै स्थानीय तह ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेका छैनन् । निःशुल्क औषधि वितरण र मधुमेह जाँच गर्दै आएको छ । नगरको वडा नं ६ मा रहेको स्वास्थ्य संस्थामा ज्येष्ठ नागरिकका लागि आवश्यक स्वास्थ्य प्रयोगशाला परीक्षण सेवा उपलब्ध गराउँदै आएको छ । धेरै स्थानीय तह ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेका छैनन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ