06/26/2025, 02:33:30

नेपाली खानाको स्वाद चखाउँदै मास्टर सेफ सन्तोषको विश्व यात्रा


काठमाडौँ, ११ असार : बिबिसी मास्टर सेफ सन्तोष साह आगामी जुलाईमा अमेरिका जाँदै हुनुहुन्छ, त्यसपछि उहाँको जर्मनी जाने तालिका छ । केही वर्षयता विश्वभर नेपाली खाना प्रवर्द्धन गर्दै आउनुभएका उहाँको त्यसपछि पनि विभिन्न देश पुग्ने तालिका बनिसकेको छ । जुलाईमा हुने अमेरिका भ्रमण उहाँको तेस्रो भ्रमण हुनेछ भने जर्मनीमा चौथो ।

सन् २०२१ मा बिबिसी मास्टर सेफ भएपछि लण्डनबाट सुरू भएको उहाँको यो यात्रा अहिले विभिन्न देशमा फैलिँदो छ । नेपाली खानाको पहिचान विश्वभर फैलाउने उद्देश्यले सक्रिय उहाँलाई अहिले विभिन्न देशमा जान भ्याइनभ्याइ छ ।

बिबिसी मास्टर सेफ जितिसकेपछि संसारभर उहाँको वाहवाही चुलियो । उहाँले उक्त प्रतियोगितामा बनाएको कोदोको खिरको चर्चा अझ बढी भयो । धेरैले उहाँले बनाएको खानाको स्वाद लिन चाहन्थे । त्यसैलाई लक्षित गरी लण्डनमा चार महिनासम्मका लागि उनको विशेष कार्यक्रम आयोजना गरिएको थियो । यो उहाँको पहिलो ‘पप–अप’ थियो ।

म बिबिसी मास्टर सेफ भएपछि धेरैले खोजी गर्न थाले, म त्यो समयमा इन्डियन रेष्टुरेन्टमा काम गर्दथे, रेष्टुरेन्टको मेन्युमा नेपाली परिकार थिएनन्, त्यसैले लण्डनमै कार्यक्रम आयोजना गरिएको थियो”, सेफ साहले भन्नुभयो । उहाँको माग यति थियो कि उक्त कार्यक्रमको टिकट बिक्री खुलाएको दुई घण्टामै ‘सोल्डआउट’ भयो ।

उक्त पप–अप विभिन्न मितिका लागि आयोजना गरिएको थियो । एउटा कार्यक्रममा औसतमा २० देखि २२ जनाका लागि मात्रै सहभागी गराइएको थियो । चार महिनासम्म सञ्चालन हुने कार्यक्रमका लागि राखिएका ६०० टिकट निमेषभरमै सकियो ।

लण्डनको कार्यक्रम सकेपछि सोही वर्ष स्कटल्याण्डबाट पप–अपका लागि निम्तो आयो । स्कटल्याण्डमा नेपाली समुदायले नेपाली रेष्टुरेन्टमा विशेष कार्यक्रम आयोजना गरेका थिए । सेफ साहले त्यहाँ पनि आफ्नो पाककलाको कौशल पस्किनुभयो ।

त्यसको केही समयपछि मास्टर सेफका चार जना विजेताका लागि लण्डनमै विशेष कार्यक्रम आयोजना गरियो । सबैका दुई–दुई कोर्स हुने गरी आठ कोर्सको मेन्यु बनाइएको थियो । लगातारका कार्यक्रमले उहाँको चर्चा अझ चुलियो । विभिन्न देशबाट पप–अप कार्यक्रमका लागि माग आउन थाल्यो । साहलाई लाग्यो, नेपाली खानालाई विश्वभर फैलाउने यो उपयुक्त माध्यम बन्न सक्छ ।

त्यसपछि साहले आफ्नो पाककलालाई एउटा होटल वा रेष्टुरेन्टमा मात्रै सीमित नराखी विश्व यात्रालाई निरन्तरता दिने योजना बनाउनुभएको थियो । तत्कालीन समयमा उहाँले नेपालमै मिथिला थालीका नाममा रेष्टुरेन्ट सुरू गरेर यतै व्यवसाय गर्ने सोच बनाए पनि नेपाली खानालाई विश्वभर प्रवर्द्धनको कार्यक्रमलाई पनि निरन्तरता दिनुपर्छ भन्ने सोच बनाउनुभएको थियो ।

उहाँले सन् २०२२ मा जर्मनी र स्वीट्जरल्याण्डमा पप–अप कार्यक्रम आयोजना गर्नुभयो । अमेरिकामा पहिलो पटक जाँदा १४ ठाउँमा पप–अप आयोजना गरिएको थियो । जसमा सुरूआतमै सबै टिकट सोल्डआउट भएका थिए । यही सिलसिलामा साहले अष्ट्रेलियाका चार वटा र न्यूजिल्याण्डका पाँच सहरमा पप–अप कार्यक्रम सम्पन्न गर्नुभयो । अब भने उहाँको तालिकामा क्यानडा र जापनमा पप–अप कार्यक्रम बनिरहेको छ ।

नेपाली खाना पकाउँदै विश्व यात्रा सुरू गर्नुभएका साहले नेपालमा पनि निजी स्तरमा पप–अप आयोजना गरिरहनुहुन्छ । केही समय अघि नेपालका एक मात्र डलर अर्बपति बिनोद चौधरीको वैवाहिक वार्षिकोत्सव र अर्को चौधरीका पाहुनाका लागि मिथिला थालीमै विशेष पप–अप आयोजना गर्नुभएको थियो । “समयले भ्याएसम्म नेपालमै पनि पप–अप सो आयोजना गरिरहेको हुन्छु, विभिन्न संस्था तथा व्यक्तिका लागि केही कार्यक्रम आयोजना भइसकेका छन्”, सेफ साहले भन्नुभयो ।

उहाँले च्यारिटीका लागि पनि पप–अप गर्नुभएको छ । स्वीट्जरल्याण्डमा विदेशीहरूमाझ गरिएको च्यारिटी पप–अपबाट सङ्कलन भएको रकम नेपालमा ल्याएर बोल्न र सुन्न नसक्नेहरूका लागि खर्च गरिएको थियो । उक्त रकमले पोखरामा बोल्न र सुन्न नसक्ने अपाङ्गता भएकाहरूलाई हस्पिटालिटीसम्बन्धी तालिम दिइएको थियो । त्यसबाहेक उदयपुरको बेलटार अस्पतालको क्यान्टिन निर्माणका लागि पनि गेट कलेज र पाटाको सहकार्यमा अन्नपूर्ण होटलमा पप–अप आयोजना गरिएको थियो । जसमा २०० भन्दा बढी मानिसहरू थिए । त्यसबाट सङ्कलत भएको रकम अस्पतालको क्यान्टिन निर्माणमा खर्चिएको थियो ।

साहका अनुसार उहाँको विश्व यात्राका क्रममा ठाउँअनुसार मेन्यु पनि आवश्यकताअनुसार परिवर्तन भइरहन्छ । तर नेवारी परिवकार वः अर्थात बारा र साँधेको भोगटे भने कहिल्यै नछुट्ने परिकारमा पर्छन् । यात्राका क्रममा उहाँलाई आउने अधिकांश प्रतिक्रियामध्ये एउटा हो, नेपाली खाना पस्कने उनको शैली । “नेपाली खानालाई पनि यति धेरै ‘क्रियटिभ’ र मीठासले तरिकाले सर्भ गर्न सकिने रहेछ भनेर आश्चर्य मान्नुहुन्छ”, साहले भन्नुभयो, “मैले नेपालमा भएका विभिन्न खानालाई आधुनिक टचअप दिएको हुन्छु, नयाँ शैलीमा पुरानै स्वाद चाख्न पाउँदा उहाँहरू निकै हर्षित हुनुहुन्छ ।

साहले बनाएको जुजु धौ (दही)को परिकारलाई धेरैले मन पराएका छन् । जुजु धौमा स्मोकी फ्लेवर, हिमालयन मह, गुराँसको फूल उमालेको पानी, जाम र जेरी क्रम्बल गरिएको बेक्ड जुजुधौ अधिकांशले मन पराउने परिकारमा पर्छ । साथै भाङको पातको पकौडा पनि धेरैले मन पराएका छन् । भाङको पातको पकौडामा डल्ले खुर्सानी, चाट मसला मिश्रण गरिएको हुन्छ । त्यसैगरी मासको दाल, याक चिज मिसाइएको काँचो केराको फुलौरा पनि साहको उत्कृष्ट परिकारमा पर्छ ।

विश्व यात्राका दौरानमा अमेरिकामा आयोजना भएको ममः महोत्सवमा उहाँले बनाएको कोदोको खिर खानेहरूले मुक्तकण्ठले साहको प्रसंशा गरेको सम्झाना साहलाई अझै ताजा छ । उहाँले अधिकांश स्थानमा १० देखि १७ कोर्ससम्मको मेन्यु बनाउनुहुन्छ । नेवारी, मधेसीलगायतका खानालाई आधुनिक ‘फ्लेवर’ दिएर ‘सर्भ’ गर्छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ