सोमबार, पुष ०८, २०८१

दुई महिनामा सरकारको खर्च र आम्दानी कति बढ्यो? हेर्नुहोस् विवरण


१ असोज, काठमाडौं । चालू आर्थिक वर्षमा सरकारको खर्च तथा आम्दानीमा सुधार देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बजेट खर्च ४.५ प्रतिशतले बढेको छ भने राजस्व १७ प्रतिशतले बढेको छ।

भदौ मसान्तसम्म सरकारले एक खर्ब ६६ अर्ब ३८ करोड रूपैयाँको राजस्व संकलन गरेको छ। जसमध्ये २१ अर्ब १९ करोड गैरकर राजस्व हो भने एक खर्ब ४५ अर्ब १९ करोड कर राजस्व हो। गत वर्ष यसै समयमा एक खर्ब ४१ अर्ब रूपैयाँ मात्रै राजस्व संकलन भएको थियो। दुई महिनामा एक रूपैयाँ पनि वैदेशिक अनुदान प्राप्ती भएको छैन। सरकारले ५२ अर्ब ३२ करोड रूपैयाँको वैदेशिक अनुदान प्राप्ती गर्ने लक्ष्य राखेको छ।

प्रदेश तथा स्थानीय तहले खर्च नगरेर फिर्ता गरेको अनुदान तथा बेरूजु असुलीबाट प्राप्त हुने रकम (अन्य प्राप्ती) ३ अर्ब १३ करोड रूपैयाँ संकलन भएको छ। गत वर्ष भने यस्तो रकम १३ अर्ब १५ करोड संकलन भएको थियो।

दुई महिनाको अवधिमा सरकारले ८२ अर्ब ९८ करोड चालु तथा प्रशासनिक खर्च गरेको छ। गत वर्ष यसै अवधिको यस्तो खर्च ८७ अर्ब ६६ करोड थियो।गत वर्षको भन्दा चालु खर्च पाँच अर्ब कम भएको छ। पुँजीगत खर्च भने बढेको छ। चालु वर्षको दुई महिनाको अवधिमा १४ अर्ब ८९ करोड रूपैयाँ पुँजीगत खर्च भएको छ। गत वर्ष यसै अवधिमा ८ अर्ब रूपैयाँ मात्रै पुँजीगत खर्च भएको छ।

सार्वजनिक ऋणको सावा फिर्ता तथा सार्वजनिक संस्थानमा ऋण लगानीको रूपमा गरिने वित्तीय व्यवस्थापन खर्च पनि बढेको छ। चालू वर्षको दुई महिनामा यस्तो खर्च ३९ अर्ब ६७ करोड रूपैयाँ भएको छ। गत वर्ष भने ३५ अर्ब ३१ करोड यस्तो खर्च भएको थियो।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading