११ आसार, काठमाडौं : अमेरिकी ई-कमर्स प्लाटफर्म, अमेजनले भारतमा सन् २०२५ मा २३३ मिलियन डलर (२ हजार करोड भारतीय रुपैयाँभन्दा धेरै) लगानी गर्ने भएको छ ।
देशव्यापी रूपमा आफ्ना सञ्चालन विस्तार, पूर्वाधार सुधार र फुलफिलमेन्ट नेटवर्कका लागि नयाँ प्रविधि विकास गर्ने कम्पनीको लक्ष्य छ । साथै, डेलिभरी सुरक्षामा सुधार ल्याउन पनि यो लगानी गर्ने लागेको कम्पनीले विज्ञप्तीमा उल्लेख गरेको छ ।
अमेजनले भारतमा आफ्ना फुलफिलमेन्ट, सर्टेसन र डेलिभरी सञ्जालसम्बन्धी नयाँ कारखाना शुरु गर्ने र विद्यमान साइटहरूको सुधार गर्ने योजना बनाएको छ । ‘अमेजनले भारतभरका सबै ठाउँहरूमा सामान पुर्याउन एउटा ठूलो सञ्जाल बनाएको छ, अहिलेको यो नयाँ लगानीले त्यो सञ्जाललाई अझ राम्रो बनाउनेछ,’ विज्ञप्तीमा भनिएको छ, ‘यसले गर्दा सामानहरू छिटो प्रशोधन हुनेछन्, डेलिभर पनि चाँडै हुनेछ र सबै काम अझै प्रभावकारी रूपमा हुनेछ ।’
वालमार्टको फ्लिपकार्ट र अर्बपति मुकेश अम्बानीको रिलायन्स रिटेलसँग भारतमा प्रतिस्पर्धा गरिरहेको अमेजनले यसअघि सन् २०३० सम्ममा भारतमा कुल २६ अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो । कम्पनीले आफ्ना कर्मचारी र सहयोगीहरूको स्वास्थ्य र आर्थिक अवस्था सुधारका लाग पनि लगानी र पहलहरू विस्तार गरिरहने जनाएको छ । यसमा ‘आश्रय’जस्ता कार्यक्रमहरू विस्तार गर्ने समावेश छ ।
‘आश्रय’ कार्यक्रमअन्तर्गत अमेजनले डेलिभरी सेवाका कर्मचारीलाई आराम गर्ने ठाउँहरू बनाउने गरेको छ । अमेजनबाहेक अन्य कम्पनीका लागि डेलिभरी गर्नेहरूले पनि त्यसको उपयोग गर्न पाउँछन् । त्यहाँ बस्ने ठाउँ, पिउने पानी, चार्जिङ पोर्ट र शौचालय सुविधा हुन्छ । त्यस्तै, अमेजनले डेलिभरी युनिट र चालकहरूका लागि वित्तीय शिक्षा र व्यक्तीगत वित्त सहायता प्रदान गर्न ‘समृद्धि’ नामक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
डेलिभरी कर्मचारी र चालकहरूकै बालबालिकालाई छात्रवृत्तिसहित सहयोग गर्न अमेजनले भारतमा ‘प्रतिधि’ कार्यक्रम सञ्चालन गरको छ । ट्रक चालकहरूको स्वास्थ्य सेवासम्बन्धी आवश्यकताहरू सम्बोधन गर्न ‘सुश्रुत‘ कार्यक्रम सञ्चालन गरिरहेको पनि कम्पनीले विज्ञप्तिमा जनाएको छ ।
अमेजनले २०२५ को अन्त्यसम्ममा ८० हजारभन्दा धेरै डेलिभरी कमर्चारी र साझेदारहरूलाई मेडिकल क्याम्पमार्फत निःशुल्क स्वास्थ्य जाँच उपलब्ध गराउने गरी राष्ट्रव्यापी अभियान सुरु गरेको इन्डियन एक्स्प्रेसको समाचारमा उल्लेख छ ।