११ असार, काठमाडौं : एप्पलका सेयरधनीहरूले कम्पनीविरुद्ध मुद्दा हालेका छन् । एप्पलले आईफोनसहित आफ्ना डिभाइसमा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) अपडेटमा ढिलो गरेको भन्दै उनीहरूले मुद्दा दायर गरेका हुन् । आइफोनको भ्वाइस एसिस्टेन्ट टुल, ‘सिरी’का लागि एप्पलसँग एआईमा–आधारित फिचरको प्रोटोटाइप नै नभएको लगानीकर्ताहरूको आरोप छ ।
आईफोन १६ मा समेत एआई फिचर नआउने निष्कर्षसहित सेयरधनीहरूले शुक्रबार सानफ्रान्सिस्को संघीय अदालतमा मुद्दा दर्ता गराएका थिए । गत वर्ष एप्पले एआई सुविधा अर्को वर्ष सार्वजनिक गर्ने जनाएको थियो । तर हालै सम्पन्न वार्षिक वर्ल्डवाइड डेभलपर्स कन्फरेन्स (डब्लूडब्लूडीसी) कार्यक्रममा खासै नयाँ एआई फिचर आएनन् । यसमा भइरहेको ढिलाइबारे पनि कम्पनीले कुनै जानकारी नदिएपछि ग्राहक र लगानीकर्ता निराश भएका छन् ।
एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुक, प्रमुख वित्तीय अधिकृत केभान पारेख र पूर्वसीएफओ लुका माएस्ट्रीविरुद्ध मुद्दा दायर गरिएको छ । सन् २०२४ को कन्फरेन्समै एप्पलले आईफोन १६ मा एआई महत्त्वपूर्ण प्रविधि हुने, सिरीलाई अझै शक्तिशाली र प्रयोगकर्ता–मैत्री बनाउने आश्वासन दिए पनि त्यसमा कुनै पहल नभएको, ढिलासुस्तीलाई स्वाभाविक ठानेको र एआई फिचरका लागि नमुनासमेत नबनाएको भन्दै सेयरधनीहरूले मुद्दा हालेको बताएका छन् ।
एआई फिचर नआएकामा बढ्दो निराशाबीच पछिल्लो समय एप्पलको सेयर मूल्य पनि घटेको छ । गत डिसेम्बर २६ देखि अहिलेसम्म यसको मूल्य एकचौथाइले घटिसकेको रोयटर्सले जनाएको छ । यसले कम्पनीको बजार मूल्यमा करिब ९ सय अर्ब डलरको क्षति पुगिसकेको रोयटर्समा जोनाथन स्टेम्पेलले औंल्याएका छन् । विज्ञहरूले यस वर्ष आईफोनको बिक्री ५ प्रतिशतबाट घटेर २ प्रतिशतले मात्रै हुने र २३ करोड २० लाख युनिट पुग्ने प्रक्षेपण गरेका छन् ।
प्रविधि कम्पनीहरूले एआईमा नयाँ–नयाँ पहल गरिरहँदा एप्पल भने यसमा पछि परेको कम्पनीकै सेयरधनी र प्रयोगकर्ताहरूको समेत गुनासो छ । यसपालिको डेभलपर्स कन्फरेन्समा एआईसम्बन्धी नयाँ सुविधा आउने ठूलो अपेक्षाबीच त्यसो हुन नसकेपछि एप्पलको कार्यक्रम लाइभ हुँदै गर्दा कम्पनीको सेयर मूल्य १.५ प्रतिशतले घटेको थियो । कारोबार सुरु हुँदा प्रतिकित्ता २०४.३४ डलर रहेको एप्पलको सेयर मूल्य ‘किनोट स्पिच’का क्रममा घट्न थालेको थियो । त्यसको भोलिपल्ट जुन १० सम्ममा सेयर मूल्य २०१.४२ डलरमा झरेको थियो ।
एप्पलको बजार पुँजीकरण त्यो बेला करिब ३.२८ ट्रिलियल डलर रहेकामा हाल ३ ट्रिलियनमा सीमित भएको छ । अमेरिकी समयअनुसार सोमबार बिहान साढे नौ बजे बजार खुल्दा एप्पलको सेयर मूल्य प्रतिकित्ता ०.४३ प्रतिशतले घटेर २ सय डलरमा सीमित भएको थियो ।
कम्पनीले एआईका विषयमा अपेक्षित नयाँ घोषणा नगरेपछि सेयर मूल्य घटेको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् । एप्पलको एआई पहल सुस्त र निराशाजनक भएको वाल स्ट्रिट जर्नलमा इजाबेला बस्टिकटले लेखेकी छन् । यस वर्षको कन्फरेन्समा एप्पलले साना र डिभाइसभित्रै समाहित एआई मोडलहरू मात्रै सार्वजनिक गरेको र यसले युजर एक्स्पेरियन्समा खासै फरकपन महसुस नहुने उनको बुझाइ छ ।
डेभलपर र प्रयोगकर्ता दुवैका लागि एआई टुल अपडेट गर्न एप्पलमाथि दबाब छ । एप्पलको कार्यक्रममा सिरी र एप अटोमेसनका लागि ‘एप्पल इन्टेलिजेन्स’बारे घोषणा भए पनि यो गुगल र माइक्रोसफ्टले सार्वजनिक गरेका एआई टुलजत्तिको पनि नभएको टिप्पणी गरिएको थियो । ‘एप्पलले जे गरिरहेको छ, त्यो रोचक छ तर प्रतिस्पर्धीमाझ आफ्नो पहिचान झल्किने गरी रोचक छैन,’ बोबो नामक एआई–पावर्ड एपका प्रखुम ग्य्रान्ट म्याकडोनाल्डले वालस्ट्रिट जर्नलसँग भनेका छन् ।
हाल ओपेनएआईको च्याटजीपीटी र एन्थ्रोपिकको क्याउडीजस्ता च्याटबट एप्पलकै डिभाइसबाट मुख्य रूपमा प्रयोग भइरहे पनि त्यो कहिलेसम्म भन्ने प्रश्न उठिरहेका छन् । ओपेन एआईले आफ्नै डिभाइस बनाउने घोषणा गरेको हुँदा एप्पल उसका लागि सधैं महत्त्वपूर्ण हुनेछैन ।
एप्पलले आफ्नो डेभलपर्स कन्फरेन्समा विभिन्न नयाँ सफ्टवेयर र फिचरको घोषणा गरेको थियो । मुख्य आकर्षणका रूपमा कम्पनीले ‘लिक्विड ग्लास डिजाइन’ अनावरण गरेको छ । आईओएस १९, आईप्याड ओएस १९, म्याक ओएस २६, वाच ओएस १२, टीभी ओएस १९ र भिजन ओएस ३ मा पारदर्शी सिसा र थ्रीडीजस्तो इन्टरफेस राखिएको छ । यसलाई ग्लास मोडलका फोनतर्फ एप्पलको पहिलो पाइला हुन सक्ने अनुमानसमेत गरिएको छ ।