१० असार, काठमाडौं : राप्रपाले संसद् बहिष्कारलाई निरन्तरता दिने भएको छ । राप्रपा संसदीय दलकाे बैठकले संसद् बहिष्कार जारी राख्ने निर्णय गरेको सचेतक विना लामाले जानकारी दिइन् । भिजिट भिसा प्रकरणमा सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले प्रभावकारी काम गर्न नसक्ने राप्रपाको निष्कर्ष छ ।
यस्तै, संसद् बहिष्कार गर्दै आएको अर्को विपक्षी दल रास्वपा भने अहिले आन्तरिक छलफलमा छ । सरकारले बनाएको समितिसम्बन्धी पार्टीको धारणा बनाउन पार्टीका सांसदहरू छलफलमा रहेको प्रवक्ता मनिष झाले बताए ।’दलको तर्फबाट आउने धारणा सदनको बैठकमै राख्नेछौं,’ उनले भने ।
भिजिट भिसा प्रकरणको छानबिन गर्नेबारे सत्तारुढ दल र प्रमुख प्रतिपक्षबीच जेठ ३० मा दुई बुँदे सहमति भएको थियो । उक्त प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति वा न्यायिक आयोग माग गर्दै रास्वपा र राप्रपाले संसद्मा अवरोध गर्दै आएका छन् ।
भिजिट भिसा तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका सम्बन्धमा छानबिन गर्नका लागि सरकारले पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीको नेतृत्वमा सोमबार उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो ।
‘अध्यागमन र भिजिट भिसाको उच्चस्तरीय अध्ययन एवं छानबिन समिति‘मा गृह, श्रम, संघीय मामिला, परराष्ट्र मन्त्रालयका सहसचिवहरू सदस्य छन् । समितिलाई ३ महिनाको कार्यादेश दिइएको छ ।