06/23/2025, 13:26:03

रजन महर्जनको कविता सङ्ग्रह ‘ओड टु यला’ अमेरिकाको न्यूयोर्कमा सार्वजनिक


काठमाडौँ, ८ असारः नेपाली कवि रजन महर्जनको अङ्ग्रेजी भाषामा लेखिएको कविता सङ्ग्रह ‘ओड टु यला’ अमेरिकाको न्यूयोर्कमा एक समारोहबीच सार्वजनिक गरिएको छ । कवि युयुत्सु शर्मा लगायतले उक्त कविता सङ्ग्रह संयुक्त रूपमा सार्वजनिक गर्नुभयो ।

निराला पब्लिकेशन्स, नयाँ दिल्लीद्वारा प्रकाशित उक्त कविता सङ्ग्रहमा २३ वटा कविता समावेश गरिएका छन् । कविको जन्मभूमि यला (पाटन) तथा काठमाडौँ उपत्यकाको सौन्दर्य, संस्कृति र आत्मासँग गहिरो नाता जोडिएको यस कविता सङ्ग्रहमा प्रवासको जीवन तथा आफ्नो मौलिक पहिचानबीचको द्वन्द्वलाई समेटिएको छ ।

कार्यक्रममा कवि महर्जनले आफ्ना कविता मार्फत् जन्मभूमिलाई सम्मान गर्न पाएकामा खुशी व्यक्त गर्दै न्यूयोर्कस्थित नेपाली समुदायप्रति आभार प्रकट गर्नुभयो । कवि शर्माले नेपालबाट अङ्ग्रेजी भाषामा हुने लेखनको परिवर्तित परिदृश्यमा ‘ओड टु यला’ को सांस्कृतिक र साहित्यिक महत्वमाथि प्रकाश पार्नुभयो । उहाँले कवि महर्जनको काव्यशैलीले जन्मभूमिप्रतिको माया र स्मृतिलाई जीवन्त चित्रमा प्रस्तुत गरेको भन्दै प्रशंसा गर्नुभयो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका गीता खत्री, ज्योति पौडेल, लक्ष्मी श्रेष्ठ, राजेन्द्र श्रेष्ठलगायतले कविता सङ्ग्रहको सफलताको कामना गर्नुभयो । सो अवसरमा आनन्द श्रेष्ठ, गोविन्द कोइराला, तुलसी चित्रकार र नेपालभाषाका कवि अमृत मान जाले कविता सङ्ग्रहबारे प्रकाश पार्नुभएको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ