06/23/2025, 13:49:56
आदिवासी जनजाति चलचित्रको प्रवर्द्धन, मौलिक भाषा संस्कृतिको संरक्षण

‘चलचित्रले भाषा, कला र संस्कृतिको संरक्षण गर्छ’

हाम्रो चलचित्र हेरेनन् भनेर गुनासो गर्ने छुट हामीलाई छैन । किनकि हामीले अन्य भाषाका चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्ने काम गर्नुपर्छ


काठमाडौँ, ९ असार : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्रले मनोरञ्जन प्रदान गर्नुका साथै भाषा, कला र संस्कृतिको संरक्षण गर्ने बताउनुभएको छ ।

आज यहाँस्थित चलचित्र विकास बोर्डको सभाहलमा आयोजित आदिवासी जनजाति चलचित्र महोत्सवको पाँचौँ संस्करणको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले आफ्नो भाषाका चलचित्र, साहित्य र सङ्गीतका गतिविधि बढाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हामी सबैको भाषा नेपाली हो, तर हामी जनजातिको आफ्नो भाषा छ, त्यसलाई पनि अगाडि बढाउनु पर्छ । हामीले आफ्नो भाषा बोल्न छाडेकै कारण त्यो नयाँ पुस्तासम्म पुग्न सकेको छैन । अहिलेका नयाँ पुस्तालाई आफ्नो भाषा आउँदैन, संस्कृतिका बारेमा ज्ञान निकै कम छ । त्यसैले हामीले मातृभाषाको प्रयोग गरी चलचित्र, साहित्य र गीत सङ्गीत निर्माण गर्नुपर्छ ।

उहाँले गण्डकी प्रदेशमा गुरुङ भाषाका चलचित्र, गीतसङ्गीत र वृतचित्र निर्माणको क्रम बढेको उदाहरण दिनुभयो । अन्य भाषामा पनि चलचित्र र साहित्यका गतिविधि बढाउनुपर्नेमा जोड दिनुभयो ।

हाम्रो चलचित्र हेरेनन् भनेर गुनासो गर्ने छुट हामीलाई छैन । किनकि हामीले अन्य भाषाका चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्ने काम गर्नुपर्छ । त्यसले नेपालमा मात्र नभई अन्तरराष्ट्रिय बजार पनि पाउन सक्छ । हामीसँग रहेका कलाकार, निर्देशक र प्राविधिकलाई समेटेर अब्बल चलचित्र तयार गर्न सक्नुपर्दछ”, मन्त्री गुरुङले भन्नुभयो ।

उहाँले राष्ट्रियसभामा पेस गरिएको ‘चलचित्र नीति’ छलफलको क्रममा रहेकाले त्यसमा आदिवासी जनजाति चलचित्र प्रवर्द्धन गर्न आवश्यक पर्ने पक्ष समेट्ने प्रतिबद्धता गर्नुभयो ।

आदिवासी जनजाति चलचित्रको प्रवर्द्धन, मौलिक भाषा संस्कृतिको संरक्षण’ भन्ने नाराका साथ यही असार ६ देखि सुरु भएको ‘पाँचौँ आदिवासी जनजाति चलचित्र महोत्सव’ मा मौलिक कला–संस्कृति, भाषा, धर्म, परम्परा, प्रथाहरूको दस्तावेजीकरण, संरक्षण, प्रवर्द्धन गरिएको आयोजक आदिवासी जनजाति चलचित्र महासङ्घले जनाएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ