06/23/2025, 01:20:43

कांग्रेसभित्रको निराशा हटाउनुपर्छ : डा शेखर कोइराला


दमौली (तनहुँ), ८ असारः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र देखिएको निराशा हटाउनुपर्ने बताउनुभएको छ । नेपाल प्रजातन्त्र सेनानी सङ्घ तनहुँले आज दमौलीमा आयोजना गरेको स्मारिका विमोचन एवं सम्मान कार्यक्रममा कोइरालाले पार्टीका कार्यकर्ता निराश रहेकाले निराशालाई आशामा बदल्नुपर्ने अहिलेको मुख्य चुनौती रहेको बताउनुभयो ।

पार्टी विधानबमोजिम अगाडि बढ्न नसकेको बताउँदै नेता कोइरालाले पार्टीलाई विधानबमोजिम हिँडाउने अभियानमा आफू लागिपरेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “पार्टी विधानबमोजिम चलेको छैन। भ्रातृ संस्थाको अधिवेशन समयमै भएका छैनन् । पार्टीको महाधिवेशन पनि निर्धारित मितिमै हुन्छ कि हुँदैन भन्ने आशङ्का छ ।

पार्टीलाई विधानबमोजिम अगाडि बढाउन सकेमात्रै नेता तथा कार्यकर्ता उत्साहित हुने बताउँदै नेता कोइरालाले विसं २०८३ मङ्सिरभित्रै पार्टीको महाधिवेशन हुनुपर्ने बताउनुभयो । त्यसका लागि देशभरका कार्यकर्ताले दबाब दिनुपर्ने उहाँको भनाइ थियो ।

भ्रष्टाचार अन्त्य र सुशासन कायमबाट मात्रै मुलुक समृद्ध बन्न सक्ने बताउँदै सरकारले त्यसमा निमर्मतापूर्वक काम गर्नुपर्ने डा कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचार र कुशासनले मुलुक पछाडि परेको छ । जबसम्म यो सुध्रिदैन देश विकास हुन सक्दैन ।” दैलेखमा ग्यास भेटिएको खबरले सकारात्मक सञ्चार प्रवाह गरेको भन्दै कोइरालाले त्यसको सही सदुपयोग हुनुपर्ने बताउनुभयो ।

नेता कोइरालाले देशको हरेक परिवर्तनमा प्रजातन्त्र सेनानीको महत्वपूर्ण भूमिका रहँदै आएको बताउनुभयो । पार्टीले प्रजातन्त्र सेनानीका योगदानलाई कहिल्यै नबिर्सने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले भ्रष्टाचार अन्त्यका लागि पार्टीले सशक्त कदम चाल्नुपर्नेमा जोड दिनुभयो । कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीको आन्तरिक जीवन व्यवस्थित बनाउनुपर्ने धारणा राख्नुभयो । केन्द्रीय सदस्य गोविन्द भट्टराईले संविधान विरोधी तत्वलाई परास्त गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रजातन्त्र सेनानी सङ्घका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहालले पार्टीका हरेक तहमा सेनानीलाई आरक्षणको व्यवस्था हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा ११ जना प्रजातन्त्र सेनानीका परिवारलाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ