06/22/2025, 16:55:02

राष्ट्रपति कार्यालयसहित मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ


काठमाडौँ, ८ असारः प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विरोध र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बहिस्कारका बीच प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीअनुसार विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति कार्यालय, उपराष्ट्रयलसहित विभिन्न मन्त्रालयसहित विनियोजनका विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।
आजको बैठक प्रारम्भ हुनेबित्तिकै प्रतिपक्षी दल रास्वपा र राप्रपाका सांसदले आफ्नो आसनबाट उठेर विरोध गर्नुभयो ।
सभामुख देवराज घिमिरेले बैठक नियमित सञ्चालन गरी आर्थिक विधेयक पारित गरेर आगामी आर्थिक वर्षको बजेट पारित गर्नुपर्ने भएकाले बैठक सञ्चालनको वातावरण बनाइदिन आग्रह गर्नुभयो । तर उहाँहरुले सभामुखको आग्रह मान्नुभएन ।
बैठकमा रास्वपाका अशिम शाहले ‘भिजिट भिसा’ प्रकरणमा तत्काल निष्पक्ष छानबिन नभएसम्म आफूहरुको विरोध जारी रहने बताउनुभयो । सदन एक महिनादेखि विरोध भइरहे पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो । राप्रपाका धवलशमशेर राणाले तीनकुने घटनाको निष्पक्ष छानबिन गर्न माग गर्नुभयो ।
त्यसलगत्तै सभामुख घिमिरेले बैठक नियमित कार्यसूचीमा प्रवेश गर्ने घोषणा गरेपछि रास्वपाका सांसदले नाराबाजीका साथ वेल घेराउ गरिरहनुभएको छ । बैठक सञ्चालनका लागि वातावरण बनाउन सभामुखसँग माग गर्दै सत्तापक्षका सांसदहरुले पनि रास्वपा र राप्रपाका सांसदहरुलाई अवरोध नगर्न अनुरोध गर्नुभयो ।
आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रप्रतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको शीर्षकमाथि छलफल हुनेछ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ