भक्तपुर, ८ असार : शारीरिक रुपमा अपाङ्ग भक्तपुर नगरपालिका–३ तेखापुखूकी प्रिता बल्लले खुट्टाले लेख्नुभएको पुस्तक ‘अविचलित पाइला’ आज लोकार्पण गरिएको छ ।
मष्तिष्क पक्षघातबाट अपाङ्गता जीवन बिताइरहनु भएकी उहाँले खुट्टाले मोबाइलमा टाइप गरेर लेख्नुभएको २४२ पृष्ठको सो पुस्तक आज पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्रीप्रसाद पाण्डेले लोकार्पण गर्नुभएको हो ।
मन्त्री पाण्डेले पुस्तक लेखेर बल्लले पर्यटन दुतको काम गरेको बताउनुभयो । शारीरिक अशक्तताका बिच पनि देशका विभिन्न धार्मिक पर्यटकीय क्षेत्रको भ्रमण गर्दै त्यहाँका बारेमा लेख्नुले पर्यटनमा टेवा पुग्ने मन्त्री पाण्डेले बताउनुभयो ।
पर्यटन मन्त्रालयले बल्ललाई केही महत्त्वपुर्ण जिमेवारी दिने प्रतिबद्धता मन्त्री पाण्डेले व्यक्त गर्नुभयो । पुस्तकमा ९३ शीर्षकमा लखिएका विभिन्न अनुभूतिहरु समेटिएका छन् । ख्वप कलेज देकोचाबाट स्नातक तह पूरा गर्नुभएकी बल्लको यो पहिलो कृति हो ।