06/21/2025, 15:50:59

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात


वीरगञ्ज (पर्सा), ७ असार : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा पाँच खर्ब ६५ अर्ब ४५ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् । आव २०८०/८१ को ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै आयातको हिस्सा १४ दशमलव ४४ अर्थात् ७१ अर्ब ३६ करोड बढीका सामान भित्रिएका छन् ।

चालु आवको ११ महिनामा यो नाका हुँदै सबैभन्दा बढी आयात हुनेमा पेट्रोलियम पदार्थको हिस्सा रहेको छ । पाँच थरिका पेट्रोलियम पदार्थमात्रै रु एक खर्ब ७४ अर्ब नौ करोड रकमको भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज नाका हुँदै दोस्रो धेरै आयात हुने वस्तुमा भने भटमासको कच्चा तेल रहेको छ । जसको हिस्सा रु ५२ अर्र्ब ५८ करोड रहेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवको ११ महिनामा आयात र निर्यात दुवै सन्तोषजनक रहेको बताउनुभयो । “चालु आर्थिकको ११ महिनामा आयात र निर्यात दुवैमा वृद्धि भएको देखिन्छ”, उहाँले भन्नुभयो, “बजेटले उत्साह जगाएको पनि सो सम्भव भएको हो ।

सो अवधिमा रु ३३ अर्ब १९ करोड मूल्यका मेसीनसी तथा तिनका पार्टपुर्जा आयात भएका छन् । त्यस्तै रु ३१ अर्ब ३९ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । सोही अवधिमा रु २६ अर्ब २३ लाख मूल्य पर्ने सबै प्रकारका एलोपेथिक औषधिहरू भित्रिएका छन् ।

चालु आवको ११ महिनामा आयात मात्रै नभएर यो नाका हुँदै हुने निर्यातमा पनि उल्लेखीय वृद्धि भएको देखिन्छ । चालु आवको ११ महिनामा रु ९१ अर्ब ५१ करोड मूल्य बराबरका वस्तु तथा सामान यो नाका हुँदै विदेशी मुलुकमा निर्यात भएको देखिन्छ । जबकी गत आवको ११ महिनाको अवधिमा भने यो नाका हुँदै रु २८ अर्ब ४४ करोड मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुकमा पुगेको थियो ।

गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने २२१ दशमलव ७७ प्रतिशत अर्थात् रु ६३ अर्ब सात करोड बढीको निर्यात भएको हो । चालु आवको ११ महिनामा यो नाका हुँदै सबैभन्दा धेरै निर्यात हुने वस्तुमा भटमासको तेल प्रशोधित रहेको छ । चालु आवको ११ महिनामा रु ५५ अर्ब तीन करोड मूल्य पर्ने रु २५ करोड ८८ लाख १४ हजार ७३२ लिटर भटमासको तेल प्रशोधित निर्यात भएको छ । जबकी गत आवको सोही अवधिमा भने रु आठ करोड ८३ लाख मूल्य पर्ने चार लाख ६४ हजार १३८ लिटर मात्रै निर्यात भएको थियो ।

चालु आवको ११ महिनामा आठ अर्ब ४० करोड मूल्य पर्ने तीन करोड ८८ लाख ९५ हजार ३३९ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । जबकी गत आवको ११ महिनाको अवधिमा रु नौ करोड ९४ लाख मूल्य पर्ने पाँच लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ