06/21/2025, 13:47:18

डावरटोल खानेपानी आयोजना निर्धारित समय अगावै सम्पन्न


सिरहा, ७ असार : यहाँको धनगढीमाई नगरपालिका–१३ स्थित डावरटोलमा निर्माणाधीन दश करोडभन्दा बढी लागतको खानेपानी आयोजना निर्धारित समयभन्दा अगावै सम्पन्न भएको छ ।
विसं २०८० असार २५ गते दुई वर्षभित्र सम्पन्न गर्ने लक्षसहित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरसँग आयोजना सम्झौता भएको थियो । उक्त निर्धारित समय सकिनु २० दिन अगावै निर्माण सम्पन्न भएको हो ।

निर्धारित समयसीमा अगाडीनै काम सम्पन्न भएर उदाहरणीय आयोजना बनेको धनगढीमाई नगरप्रमुख शिव शंकर महतोे बताउनुभयो । नगरभित्रका अन्य खानेपानीको आयोजनाहरु लामो समय व्यतित हुँदा निर्माणाधिन अवस्थामै जीर्ण हुँने गरेको जनाउँदै उहाँले भन्नुभयो,“मलाई त आश्चर्य लागेको छ । समयसीमा अगावै काम सम्पन्न हुनु गौरवको विषय हो । अन्य निर्माणाधिन आयोजना पनि समयमै सम्पन्न गर्न यसले सकरात्मक सन्देश दिएको छ ।” खानेपानी आयोजनालाई राजनीतिकरण गरिने र प्रतिष्ठासँग जोड्ने प्रवित्तिले आम जनता वाक्क भएको अनुभूति आफूले गरेको उहाँको भनाइ थियो ।

यस खानेपानी आयोजना निर्धारित समयमा सम्पन्न गर्नका लागि ‘डावरटोल नैनपुर टोल खानेपानी तथा सरसफाई उपभोक्ता समिति’ले काम गरेको थियो । समितिका अध्यक्ष श्रवण ठकुरी भन्नुभयो  “हामीले गत जेठमै काम सम्पन्न गरिसकेका थियौँ । जेठबाटै परीक्षणका रुपमा पानी उपभोक्तालाई वितरण गरिसकेका थियौँ । निरन्तरको सक्रियता, लगनशीलता र मिहिनेतले यो सम्भव भएको हो ।” कूल रु १० करोड छ लाख ५८ हजार लागत रहेको यस आयोजनाबाट वडा नं १३, १२ र ११ का एक हजार चार सय ४७ घरधुरीका आठ हजार छ सय ४२ भन्दाबढी जनसंख्या लाभान्वित भएका जनाइएको छ । स्थानीयले खोला, कुवा र पोखरीको दूषित पानी खानुपर्ने दिनहरु अब सदाका लागि अन्त्य भएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ