दोलखा, ४ असारः लोपोन्मुख सुरेल जातिको इतिहास, संस्कृति र जीवनशैली समेटिएको ‘सुरेलका रङ्गहरू’ नामक तस्बिर सङ्ग्रह पुस्तक आय यहाँ सार्वजनिक गरिएको छ । गौरीशङ्कर गाउँपालिका–५ सुरीमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले उक्त पुस्तक विमोचन गर्नुभएको हो ।
गौरीशङ्कर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीका अनुसार गौरीशङ्कर–५ सुरीमा मात्र बसोबास गर्दै आएको लोपोन्मुख सुरेल जातिको भाषा, धर्म, परम्परा र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि गाउँपालिकाको सहयोगमा पुस्तक प्रकाशन गरिएको हो । उहाँले स्थानीय तहको सक्रियता र जिम्मेवारीले मात्र यस्तो मौलिक जातीय सम्पदाको संरक्षण सम्भव हुने बताउनुभयो ।
पुस्तकका सम्पादक तथा फोटो पत्रकार जीवन लामाका अनुसार ‘सुरेलका रङ्गहरू’ मा सन् २००८ देखि हालसम्मका सुरेल समुदायका तस्बिर समेटिएका छन् । पुस्तकमा सुरेलका भूकम्पपूर्वका परम्परागत घरहरू, मठ–मन्दिर, रहनसहन, वेषभूषा, चाडपर्व र सांस्कृतिक गतिविधि समेटिएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार सुरेल जातिको जनसङ्ख्या ३१८ रहेको छ । तीमध्ये सुरीमा ५०, खारेमा ३ तथा सुम्नामा ७ सुरेल परिवारको बसोबास रहेको छ । उनीहरूको जीविकोपार्जन चोयाबाट बनेका सामग्री र परम्परागत कृषि प्रणालीमा आधारित छ ।
पुस्तक विमोचन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, प्रवक्ता युगबहादुर बस्नेत, उपाध्यक्ष उमा शेर्पा मगर, प्रशासकीय अधिकृत रिजेश उपरकोटी, सुरेल जाति उत्थान समाजका अध्यक्ष प्रल्हाद सुरेल, विभिन्न वडाका अध्यक्षगायतको उपस्थिति रहेको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










