06/12/2025, 17:40:51

आत्मसमीक्षासहित जनतातर्फ फर्केका छौँ : माओवादी अध्यक्ष प्रचण्ड


गण्डकी, २८ जेठः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षासहित आफूहरू जनतातर्फ फर्केको बताउनुभएको छ । माओवादी केन्द्र, पोखरा महानगर समितिको तेस्रो सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै उहाँले आफ्नो वर्ग र समुदायसँगको सम्बन्धलाई नयाँ चिराबाट अगाडि बढाइएको बताउनुभयो ।

बीचमा जनता र वर्गसँगको सम्बन्ध टुटेको थियो, गम्भीर समीक्षा गरी पार्टीलाई जनतासँग जोड्ने संकल्प गरेका छौँ”, उहाँले भन्नुभयो, “पछिल्लो समय माओवादी केन्द्रप्रति जनतामा नयाँ विश्वास र भरोसा देखिएको छ ।

पार्टीले चलाएको हुलाकी राजमार्ग र मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित जनजागरण अभियानका क्रममा पार्टीप्रति आकर्षण देखिएको उहाँको भनाइ थियो । “आगामी निर्वाचनसम्म माओवादी केन्द्रलाई बलियो र पहिलो पार्टीका रूपमा स्थापित गर्ने जिम्मेवारी हाम्रो काँधमा छ”, अध्यक्ष दाहालले भन्नुभयो, “सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसहितको समाजवादको बाटोमा मुलुकलाई लैजान माओवादीले सक्छ ।

उहाँले नेपाली मौलिकता र विशेषताको समाजवाद स्थापनाका लागि आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको विकास गर्नुपर्ने धारणा राख्नुभयो । समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न पार्टी एकता र ध्रुवीकरणको प्रक्रिया सुरू भएको उहाँको भनाइ थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ