06/09/2025, 00:08:38

‘अन्तरराष्ट्रिय पर्यटन सहकार्यको आधार हिमालयन ट्राभल मार्ट’


काठमाडौँ, २५ जेठः हिमालय क्षेत्रका देशबीच बलियो सहकार्यका साथै अन्तरराष्ट्रिय पर्यटन प्रवर्द्धनका लागि अन्तरराष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट’ बलियो आधार बनेको छ । यहाँ पर्यटन क्षेत्रको सबैभन्दा ठूलो पर्यटन मेलाका रूपमा स्थापित मार्टको पाँचौँ संस्करण हालै काठमाडौँमा सम्पन्न भएको छ ।

यही जेठ २० देखि २२ सम्म भएको मार्टले अन्तरराष्ट्रिय पर्यटन प्रवर्द्धन, सहकार्य र दिगो पर्यटन विकासका लागि नयाँ मापदण्डसमेत स्थापित गरेको आयोजक प्यासिफिक ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले आज विज्ञप्तिमार्फत जनाएको छ ।

मार्टको पाँचौ संस्करणमा विश्वका ३० मुलुकबाट १०० भन्दा बढी अन्तरराष्ट्रिय सहभागी र नेपाली पर्यटन क्षेत्रका प्रतिनिधि तथा सरोकार भएकाहरूसहित ७०० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो ।

माउन्टेन, माइलस्टोन्स एण्ड मोमेण्टम’ भन्ने मूल नाराका साथ पाटा नेपाल च्याप्टरको ५०औँ वार्षिकोत्सवको अवसरमा आयोजित मार्ट दिगो पर्यटन वृद्धिका लागि अन्तरराष्ट्रिय पर्यटन सहकार्य प्रवर्द्धनमा फलदायी भएको पाटाले उल्लेख गरेको छ ।

मार्टले अन्तरराष्ट्रिय क्रेता, बिक्रेता, सञ्चारकर्मी, पर्यटनव्यवसायी, नीतिनिर्माता र सरोकार भएकाहरूको उत्साहजनक सहभागिताले मार्टलाई हिमाली क्षेत्रकै प्रमुख ट्राभल ट्रेड प्लेटफर्मको रूपमा हिचान गराउँदै नेपाललाई ‘गेटवे टु द हिमालय’को रूपमा स्थापित गर्न सशक्त भूमिका खेलेको विज्ञप्तिमा जनाइएको छ ।

नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा विभिन्न सार्वजनिक तथा निजी क्षेत्रका साझेदारको सहकार्य र सहयोगमा आयोजित मार्टमा व्यावसायिक अन्तरक्रिया, ज्ञान आदानप्रदान सत्र, नेटवर्किङ, गन्तव्य अवलोकन भ्रमण, र सांस्कृतिक कार्यक्रमलगायत प्रस्तुत गरिएका थिए ।

मार्टको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई ‘गेटवे टु द हिमालय’ को रूपमा परिचित गराउँदै पाटा नेपालको स्वर्ण जयन्ती र माउण्ट अन्नपूर्णाको पहिलो सफल आरोहणको ७५औँ वार्षिकोत्सव जस्ता दुई ऐतिहासिक उपलब्धिको चर्चा गर्नुभयो । उहाँले दिगो, समावेशी र लचिलो पर्यटन भविष्य निर्माणका लागि सरकारको प्रतिबद्धता र सार्वजनिक–निजी साझेदारी तथा विश्वव्यापी सहकार्यको आवश्यकता औँल्याउनुभएको थियो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपालको दिगो पर्यटन दृष्टिकोण र अन्तरराष्ट्रिय पर्यटकका लागि नयाँ परिपथ र विशेष अनुभव विकास गर्ने योजना प्रस्तुत गर्नुभयो । पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लाकाईंले नेपाललाई वर्षभर भ्रमणयोग्य गन्तव्यको रूपमा प्रवर्द्धन गर्न सकिने र सो स्थापित गर्नका लागि क्षेत्रीय सहकार्यको आवश्यकता औँल्याउनुभयो ।

वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले ‘हिमाल, उपलब्धि र गति’ भन्ने मूल विषयमा आधारित रहेर विशेष वक्ताको रूपमा सम्बोधन गर्दैै नेपालको पर्यटन विकासका आधारबारे प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रममा सहभागी विदेशी पाहुनालाई परिचयात्मक भ्रमण गराइएको थियो । उनीहरूले काठमाडौँ, चितवन, पोखरा, पनौती, र धुलिखेलजस्ता गन्तव्यमा पुगेर नेपालका विविध अनुभव अवलोकन गर्नुका साथै भ्रमणबाट नेपालको सांस्कृतिक सम्पदा, वन्यजन्तु, सामुदायिक पर्यटन, साहसिक, स्वास्थ्य र अध्यात्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुगेको पाटा नेपालका सिइओ सुरेशसिंह बुडालले बताउनुभयो । उहाँका अनुसार बीटुबी कार्यक्रमअन्तर्गत राष्ट्रिय तथा अन्तरराष्ट्रिय विश्लेषकले आध्यात्मिक, साहसिक, विलासी पर्यटन, सांस्कृतिक बौद्धिकता र समझदारी, दिगोपन, बजार प्रवृत्ति र विश्वपर्यटनको उदाउँदो अवसरबारे विचार आदान प्रदान गरिएको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ