मङ्गलबार, पुष ०९, २०८१

उपसभामुखलाई हटाउने चर्चालाई हामीले गम्भीर रूपमा लिएका छौँ : रास्वपा


२५ भदौ, काठमाडौँ । सत्ता गठबन्धनको बैठकमा उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषयमा छलफल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उपसभामुखलाई हटाउन सदनमा प्रस्ताव लैजानेबारे छलफल भएको थियो । सत्तारुढ दलमा यो विषयमा छलफल भएपछि मंगलबार संसद् बैठकअघि पार्टीमा अनौपचारिक छलफल गर्न लागिएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । यसबारे आफूले भर्खरै सूचना पाएको भन्दै उनले थप अध्ययन गरेर संसद् बैठकमा पनि कुरा उठाउने उनले बताए ।

‘उपसभामुखलाई हटाउने सत्ता गठबन्धन दलमा भएको छलफललाई हामीले गम्भीररूपमा लिएका छौँ । यसबारे छलफल गर्न हामीले अनौपचारिक बैठक बोलाएका छौँ । थप अध्ययन गरेर संसद्को दिउँसो बस्ने संसद् बैठकमा फ्रन्टलाइनमा कुरा उठाउँछौँ’, उनले भने ।

यसअघि उपसभामुख राना असम्बन्धित व्यक्तिलाई अन्तर्वार्ताका लागि समय मिलाइदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेपछि विवादमा तानिएकी थिइन् । यसैलाई आधार बनाएर गठबन्धन सरकारले उपसभामुखलाई हटाउन लागेको रास्वपा नेताहरूले आशङ्का व्यक्त गरेका छन् ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading