काठमाडौँ, २२ जेठः केही दिनदेखि सूचना टाँस गरेर स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक आज अपराह्न १० मिनेट बसेर फेरि भोलिसम्मका लागि स्थगन भएको छ । निर्धारित समयभन्दा झण्डै साढे चार घन्टा ढिला गरी बसेको बैठक प्रारम्भ हुने वित्तिकै प्रतिपक्षी सांसदहरुले उठेर विरोध जनाउनुभयो ।
सभामुख देवराज घिमिरेले आसनमा बसेर दलीय आधारमा बोल्नका लागि सहयोग गर्न आग्रह गर्नुभयो । प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा गृह मन्त्रीको संलग्नताको आधार देखिएको दाबी गर्दै गृहमन्त्रीको राजीनामा नआएसम्म बैठक अघि बढ्न नसक्ने बताउँदै आएका छन् ।
सभामुख घिमिरेले पटकपटक आसन ग्रहण गरेर सदन सञ्चालनको वातावरण बनाउन आग्रह गर्नुभएको थियो । चालु अधिवेशनबाट अत्यावश्यक कानुन बनाउनुपर्ने आवश्यकता रहेकातर्फ ध्यानाकर्षण गराउँदै उहाँले सदन सञ्चालनमा सहयोग गर्न अनुरोध गर्नुभयो ।
गृहमन्त्रीले समसामयिक विषयमा उठेका प्रश्नको जवाफ दिन समय माग्नुभएको जानकारी दिँदै सभामुखले बजेटमाथिको छलफल प्रभावित भइरहेकाले त्यसतर्फ गम्भीर हुन आग्रह गर्नुभयो ।
बैठकमा सभामुख घिमिरे आजको निर्धारित सम्पूर्ण कार्यक्रम सूचीको हटाइएको जानकारी गराउनुभयो । प्रतिपक्षी र सत्तापक्ष सांसदबीच केहीबेर आरोप प्रत्यारोप चलेको थियो । विपक्षी सांसदको विरोध जारी रहेपछि प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार अपराह्न १ बजे बस्नेगरी स्थगित भएको छ ।