06/06/2025, 18:04:16

जनतालाई पार्टीमा जोड्न जनताका मुद्दालाई प्राथमिकता दिनुपर्ने : शङ्कर पोखरेल


काठमाडौँ, २२ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जनतालाई पार्टीमा जोड्न जनताका मुद्दालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

ललितपुरको च्यासलस्थित एमाले बागमती प्रदेश कमिटीको कार्यालयमा वागमती प्रदेशअन्तर्गतका विभागीय प्रमुख, सचिव, जनसङ्गठन इञ्चार्ज तथा प्रमुखको बैठकलाई आज सम्बोधन गर्दै उहाँले जनतालाई पार्टीमा जोड्न सकेमात्र पार्टी बन्ने बताउनुभयो ।

महासचिव पोखरेलले पार्टी र सङ्गठनमा काम नगर्नेहरूले जिम्मेवारी लिनु नहुने बताउनुभयो । उहाँले जसका लागि काम गर्ने हो त्यही समुदायमा नरहने व्यक्तिले जिम्मेवारी पूरा गर्न नसक्ने बताउनुभयो । “हामी पार्टीका नेताहरूलाई पदीय जिम्मेवारी दिने अर्थमा मात्र जनसङ्गठन बनाइरहेका छौँ, काम गर्न समुदायमा पुग्ने हिसाबले सङ्गठन निर्माण भएकै छैन, हाम्रा जनसङ्गठन पार्टीका नेताहरूलाई व्यवस्थापन गर्ने थलो भएका छन्”, उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले पार्टी र सङ्गठन निर्माणका बारेमा गम्भीर भएर सोच्नेबेला आएको बताउनुभयो । “पार्टीको राजनीतिले मात्र जनाधार विस्तार हुँदैन, त्यसलाई समुदायमा आधारित बताउनुपर्छ”, उहाँले भन्नुभयो ।

पार्टीका बागमती प्रदेश इञ्चार्ज राजन भट्टराईले मिसन–२०८४ लाई लक्षित गरेर जनसङ्गठन पार्टी विस्तारमा लाग्नुपर्ने बताउनुभयो । पार्टीका प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले बागमती प्रदेशमा सङ्गठन विस्तार तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ