२४ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको समस्या नेताहरूको समस्या भएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालयमा नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलाप्रति असहमति जनाउँदै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष नेपालले सर्वोच्चको सो फैसलाले आम नागरिकहरूमा ठुलो असर परेको भन्दै नागरिकको पिर-मर्काप्रति आफ्नो पार्टी संवेदनशील रहेको बताए । उनले जनताका आँखामा आँसु बहेको आफूहरूले देख्न नसक्ने बताए । उनले आफूहरूले जनताको अनुहारमा मुस्कान र जनताको उज्यालो अनुहार हेर्न चाहेको बताए ।
अध्यक्ष नेपालले कुनैपनि एउटा परिवारलाई पीडा हुँदा आफूलाई पोल्ने गरेको भन्दै न्यायपालिकाले फैसलाको पुनरावलोकन गर्नुपर्ने बताए । उनले आफू प्रधानमन्त्री भएको बेलामा ठुला-ठुला निर्णयहरू गरेको दाबी गर्दै सो निर्णयले कतिपय नेताहरूको खुट्टा काँप्न थालेको बताए ।
उनले भने, ‘अहिले तपाईं हामी जुन पिर-मर्कामा छौँ, त्यो पिर-मर्काप्रति हाम्रो पार्टी संवेदनशील छ । जनताको समस्या हाम्रो पनि समस्या हो । जनताका आँखामा आँसु बहेको हामी देख्न सक्दैनौँ । जनताको अनुहारमा हामी मुस्कान हेर्न चाहन्छौँ । उज्यालो अनुहार हेर्न चाहन्छौँ । एउटा परिवारलाई पनि पीडा हुन्छ भने त्यसले हामीलाई पोल्छ । पोल्नु पर्दछ । तब नै हामी जनताका सेवक हुन सक्दछौँ । जनताको हितैषी हुनसक्छौँ । जनताको सेवामा समर्पित छौँ भनेर भन्नसक्छौँ ।’
अध्यक्ष नेपालले संसद्को माध्यमबाट अहिलेको सरकारलाई झक्झक्याउने काम गरिरहेको बताए ।