06/01/2025, 21:58:23
भिजिट भिसा प्रकरण

घरझगडा घरभित्रै गर्नुस्, आँगनमा निस्केर झगडा गर्नु राम्रो होइन : प्रधानमन्त्री ओली


काठमाडौँ, १७ जेठ : प्रधानमन्त्री केपी शर्मा ‌ओलीले सत्तारुढ कांग्रेसका नेताहरूलाई सार्वजनिक रूपमा झैझगडा नगर्न सुझाव दिएका छन् । पार्टीभित्रका आन्तरिक कुरालाई सार्वजनिक बहसमा ल्याएर विवाद नगर्न सुझाएका छन् ।

गृहमन्त्री रमेश लेखकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा प्रकरणमा जोडेर कांग्रेसकै नेताहरूले राजीनामा माग गरेको सन्दर्भमा प्रधानमन्त्री ओलीले उक्त कटाक्ष गरेका हुन् ।

१३ औं कान्तिपुर हाफ म्याराथनको शनिबार उद्घाटन गरेपछि आयोजित छलफल कार्यक्रममा प्रधानमन्त्री ओलीले कांग्रेसका नेताहरूलाई पार्टीको विवाद सार्वजनिक रूपमा छताछुल्ल नगर्न भनेका हुन् । सबै पार्टीभित्र समस्या हुनसक्ने र त्यसको समाधान आन्तरिक रूपमा नै गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । ‘पार्टीभित्र केही समस्या हुन सक्छ । त्यो पार्टीको समस्या, व्यक्तिगत ‘लाइक, डिस्लाइक’ भन्दा पनि पार्टीभित्रका व्यैक्तिक आकांक्षाहरूले ध्रुवीकरण अथवा अरु कुनै कारणले केही पार्टीभित्र हुनसक्छ तर दल र दलका नेताहरूले त्यो कुनै पनि पार्टी, मेरो पार्टीको वा अर्को पार्टीको कसैको घरझगडा घरभित्र बसेर गर्नुस्, आँगनमा निस्केर तमासा गरेर छिमेकीलाई डिस्टर्ब नगर्नुस्,’ प्रधानमन्त्रीले भने ।

पार्टीभित्रको विवाद समाधानको तरिका अपनाउन प्रधानमन्त्रीले कांग्रेसलाई सुझाव दिएका हुन् । ‘तपाईंको घरझगडा छ भने घरभित्र बसेर गर्नुस्, मजाले गर्नुस्, घरभित्र कुटाकुटचाहिँ नगर्नुहोला तर आँगनमा निस्केर वल्लो छिमेकी पल्लो छिमेकी सबैको काम डिस्टर्ब नगर्नुस्,’ प्रधानमन्त्रीले भने, ‘के भयो, के-के न होला, त्यहाँ शतर्क भएर हेर्नु पनि पर्ला, कुटाकुट गरे, मारामार गरे भने त छुट्याउन जानुपर्ने अवस्था होला । त्यसो भएकाले आँगनमा निस्केर झगडा गर्नु राम्रो होइन ।

घरभित्र विवाद गर्दा नपुगेर सार्वजनिक अभिव्यक्ति र वादविवादमा उत्रिएको हो भन्ने प्रधानमन्त्रीको भनाइ थियो । ‘घरैभित्र झगडा गरेर छिमेकीलाई डिस्टर्ब गर्नु राम्रो होइन । आँगनमा निस्केर झगडा गर्नु किन पर्‍यो ? घरभित्रको आवाजले पुगेन भनेर बाहिरै प्रसारण गर्नेगरी आवाज निकाल्नुपर्‍यो भनेर त्यहाँ ? भयंकर ध्वनि प्रदूषण, वातावारण प्रदूषण, सामाजिक वातावरणको प्रदूषणदेखि अनेक चिज हुन्छ । यस्तो किन गर्छन् भन्ठान्छु, यो कसैले नगरौं,’  ओलीले भने ।

विपक्षी दलहरूले आधारहीन आरोप लगाएर गृहमन्त्रीको राजीनामा मागिरहेको बताउँदै त्यसमा नलाग्न कांग्रेसका नेताहरूलाई प्रधानमन्त्रीले सुझाव दिएका हुन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ