06/01/2025, 04:28:17

‘बजेटले अर्थतन्त्रका देखिएका समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको छ’


काठमाडौँ, १६ जेठ: नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रका देखिएका समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको बताउनुभएको छ ।

नेपाल बुद्धिजीवी परिषद्ले आज यहाँ आयोजना गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेट समीक्षा, कार्यान्वयनको अवसर र चुनौती’ विषयक अन्तरक्रियामा उहाँले अर्थतन्त्रको सङ्कट समाधानतर्फ केन्द्रित हुनुका साथै निजी क्षेत्रलाई समेट्ने प्रयास गरेको राख्नुभयो ।

महासचिव पोखरेलले अर्थ मन्त्रालय र अन्य मन्त्रालयबीचको समन्वय र सहकार्य जुन हिसाबले हुनुपर्ने, त्यो भने हुन नसकेको बताउनुभयो । “अर्थ मन्त्रालय बजेट ल्याउने र नियन्त्रण गर्ने मात्र ठाउँ होइन, बजेट कार्यान्वयन गर्ने निकाय पनि हो । अन्य मन्त्रालयसँगको समन्वयमा केही कमी देखिएको छ”, उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले अनौपचारिक अर्थतन्त्रले नेपालको आर्थिक गतिविधिमा प्रभाव पारेको भन्दै अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा बदल्न आवश्यक रहेकामा जोड दिनुभयो । अनौपचारिक अर्थतन्त्रले नेपालको घरजग्गा कारोबारमा सबैभन्दा बढी प्रभाव पारेको उहाँले भनाइ छ ।

अनौपचारिक अर्थतन्त्रले घर जग्गा कारोबारमा बढेको आकर्षणमा खुसी मान्दा आजको अवस्था आएको भन्दै घर जग्गामा गरेको लगानीको कारण आज सबै क्षेत्र अस्तव्यस्त भएको उहाँले बताउनुभयो ।

महासचिव पोखरेलले पुँजी बजारले नेपालको अर्थतन्त्रलाई प्रभाव पारिरहेको उल्लेख गर्दै पुँजी बजारलाई अस्वाभाविक रूपमा उतारचढाव ल्याउन अनौपचारिक अर्थतन्त्रले काम गरिरहेको बताउनुभयो । नेपालमा शासकीय क्षमतालाई प्रवर्द्धन गर्न कानुनमा सुधार आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

हरेक निकायले कानुन सुधारमा जोड दिनुपर्ने छ । ती सेवाप्रवाह र सुशासनमुखी हुनुपर्ने छ । नेपालमा बनेका कानुन यस्ता छन्, जो विकासमैत्री छैनन्, सेवामैत्री छैनन”, उहाँले भन्नुभयो । महासचिव पोखरेलले देश निर्माणको लागि प्रशासनिक संयन्त्रमा सुधार आवश्यक रहेको बताउनुभयो ।

समयमा कार्यसम्पादन नहुनाले नेपालमा भ्रष्टाचार बढ्दै गएको महासचिव पोखरेलको भनाइ छ । उहाँले कुनै पनि काम ढिलो हुँदै जाँदा त्यसको लागत बढ्ने र त्यहाँ भ्रष्टाचार र कमिसनको चक्कर चल्ने सम्भावना रहने भन्दै सेवाप्रवाह पारदर्शी र शीघ्र सम्पादन हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

परिषद्का अध्यक्ष डा दिनेशचन्द्र देवकोटाले बजेट जनमुखी भएको भन्दै प्रभावकारी कार्यान्वयनमा ध्यान दिन सरोकार भएका सबैलाई आग्रह गर्नुभयो । उहाँले बजेटले मुलुकलाई विकास र समृद्धितर्फ लैजाने विश्वास व्यक्त गर्नुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ