२१ भदौ, काठमाडौं । नेपालमा टेस्ला गाडी बिक्री गर्ने कम्पनी अरेत इन्टरनेशनलको मालिगाउँस्थित कार्यालयमा शुक्रबार आगलागी भयो। प्रहरी र दमकलको सहयोगमा करिब ४५ मिनेटपछि आगो नियन्त्रणमा लिइएको थियो। पौने घण्टा आगलागी हुँदा धेरै वस्तुहरूमा क्षति पुगेको छ। नेपालमा टेस्लाको विद्युतीय गाडी बिक्री गर्दै आएको अरेत इन्टरनेशनलका अनुसार शुक्रबार बिहान साढे ११ बजे आगलागी भएको थियो भने मध्याह्न सवा १२ बजेमात्रै आगलागी नियन्त्रणमा आएको थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विकास श्रेष्ठका अनुसार आगलागी विद्युत सर्टका कारण भएको हो। आगलागी भएको भवन अरेत इन्टरनेशनलको मुख्य कार्यालय हो।
‘मुख्य कार्यालयमा आगलागी हुँदा सामानहरूमा पनि क्षति पुग्यो। गाडीमा र मानवीय क्षति भने भएको छैन,’ उनले भने। गाडीका केही पार्टस्, कागजपत्र तथा अफिस प्रयोजनमा रहेका विभिन्न सामानहरू (टेवल, कुर्ची, सोफालगायत) जलेको उनले बताए। उनकाअनुसार क्षतिको मूल्यांकन हुन भने बाँकी छ।
‘साढे ११ बजेतिर आगलागी भएको थियो। ४५ मिनेटसम्म आगो नियन्त्रणमा आउन सकेन। प्रहरी कार्यालय अगाडि नै हाम्रो कार्यालय भएकाले उहाँहरुले तत्काल रेस्पोन्स गर्नुभयो। दमकल आउन भने समय लाग्यो, आएको केही समयमै आगो नियन्त्रणमा लिइयो,’ सिइओ श्रेष्ठले भने। आगलागीको कारण कार्यालका काठमा झ्याल ढोकाका साथै सिसाहरू पनि फुटेका छन्। अहिले क्षति पुगेका सामानहरू व्यवस्थापनको काम भइरहेको छ।