05/30/2025, 13:50:30

ऐनापहरामा ‘स्काइवाक’ निर्माण गरिने


दमौली (तनहुँ), १५ जेठः जिल्लाको आँबुखैरेनी गाउँपालिकास्थित पर्यटकीयस्थल ऐनापहरामा ‘स्काइवाक’ निर्माणका लागि सर्भेसुरु गरिएको छ । आँबुखैरेनी-२ स्थित ऐनापहरालाई पर्यटकीय ‘हब’ बनाउने उद्देश्यसहित स्काइवाक निर्माण प्रक्रिया सुरु गरिएको हो ।

हाल भौगोलक अवस्थाका बारेमा आवश्यक अध्ययन भइरहेको बताउँदै स्काइवाक निर्माणपश्चात् यो क्षेत्र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “यस ठाउँ पछिल्लो समय पर्यटकको आकर्षक केन्द्र बनिरहेको छ । सोही कारण यहाँ पूर्वाधार थप्न लागिएको हो । स्काइवाकले यहाँको पर्यटन प्रवर्द्धन गर्दै साहसिक गतिविधिमा टेवा पुर्‍याउनुका साथै स्थानीयलाई रोजगारीका अवसर सृजना गर्नेछ ।

स्काइवाक निर्माणपश्चात् यस क्षेत्रको प्रचारप्रसार हुने बताउँदै चुमानले भन्नुभयो, “यसले यहाँको पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउनेछ भने स्थानीय समुदायको जीवनस्तरमा सुधार ल्याउनेछ ।” पृथ्वीराजमार्गसँगै जोडिएको ऐनापहरा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको उहाँको भनाइ छ ।

बिदा र शनिबारका दिन यहाँ एक हजारभन्दा बढी पर्यटकको आगमन हुने गरेको आँबुखैरेनी–२ का वडाध्यक्ष आशबहादुर गुरुङले जानकारी दिनुभयो । ढुङ्गामा विभिन्न कलात्मक आकृति कोरिएको यस ठाउँ पर्यटकको रोजाइमा परेसँगै स्थानीयको आयआर्जन सुधार हुँदै गएको उहाँले बताउनुभयो ।

वडाध्यक्ष गुरुङले भन्नुभयो, “गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजनासहित आवश्यक प्रक्रिया अगाडी बढाएको छ । राजमार्गसँगै जोडिएकाले पनि यो पर्यटकको रोजाइमा पर्ने गरेको छ ।” उहाँका अनुसार ऐनापहराबाट गाउँपालिकाले हालसम्म रु ६० लाखभन्दा बढी आम्दानी गरिसकेको छ ।

राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीयस्थलका रूपमा विकास भएपछि सुन्दर र आकर्षक बनाउन उद्यान निर्माण गरिएको छ । यहाँ झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छभने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ । तनहुँको अग्लो महाभारत पर्वत श्रृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउँढीखोलाको पानी बगेर झरनामा मिसिएको छ ।

ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन (डिपीआर)तयार गरिएको अध्यक्ष चुमानले जानकारी दिनुभयो । उहाँले डिपीआर अनुसार रु १० करोड बजेट आवश्यक पर्ने भन्दै यहाँ बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायत संरचना निर्माण गरिने उल्लेख गर्नुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ